जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार १६:२३

राष्ट्रिय निकासको लागि एमाले केन्द्रीय विभागहरूको राष्ट्रपतिलाई पहल लिन अपिल


काठमाडौं, भदौ २७। नेकपा एमालेका विभिन्न केन्द्रीय विभागहरूले जेन जेड (Gen Z) आन्दोलनका क्रममा उत्पन्न असामान्य परिस्थिति र पछिल्ला राजनीतिक घटनाक्रमबारे संयुक्त अपिल जारी गरेका छन्।

विभागीय सचिवहरूको भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ। अपिलमा वर्तमान संविधानको मर्मभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी राजनीतिक अन्यौलताको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ। अहिलेको समस्या समाधानका लागि शीतल निवासबाट राष्ट्रपतिले अग्रसरता र नेतृत्व लिनुपर्ने विशेष आग्रह गरिएको छ।

सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र अराजक क्रियाकलापप्रति एमाले विभागहरूले गम्भीर ध्यानाकर्षण गराउँदै यसको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति तत्काल गठन गर्न आग्रह गरेका छन्। दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने पनि अपिलमा उल्लेख छ।

‘एमालेका कार्यकर्तालाई घर–घर पुगेर धम्क्याउने, राजीनामा दिन बाध्य पार्ने कामहरू निन्दनीय छन्,’ अपिलमा भनिएको छ। विभागहरूले स्थानीय समुदाय र सुरक्षा निकायबिच सहकार्यको वातावरण बनाएर टोल–टोलमा हुने अवाञ्छित गतिविधि रोक्न अपिल गरेका छन्।

त्यस्तै, वर्तमान परिस्थितिको लाभ उठाउँदै कालोबजारी, मूल्यवृद्धि र चोरीजस्ता गतिविधि बढेको भन्दै बजारलाई सहज बनाउन सरकार र सबै पक्षलाई सक्रिय हुन आग्रह गरिएको छ।

एमालेले हालको जेन जेड पुस्ताको चाहनाअनुसार पार्टीलाई सशक्त बनाउँदै देशका समस्या समाधानमा प्रतिबद्ध रहने जनाएको छ।

उक्त अपिलमा एमालेका अर्थ तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति, उपभोक्ता संरक्षण, ऊर्जा, कृषि, कानुन, खानेपानी, पर्यटन, परराष्ट्र, प्रचार, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, सुरक्षा, वातावरण, विज्ञान तथा प्रविधि, शिक्षा, श्रम, सहकारी, साहित्य संस्कृति, स्वास्थ्य लगायतका विभागहरूको तर्फबाट संयुक्त रूपमा हस्ताक्षर गरिएको छ।