जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार २०:२०

संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौं : शंकर पोखरेल


काठमाडौं, भदौ २७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हाल भइरहेको संसद् विघटनको तयारीलाई विडम्बनापूर्ण भन्दै सचेत रहन सबैलाई आह्वान गर्नुभएको छ।

उहाँले विगतमा बहुमतप्राप्त प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै मुद्दा हाल्ने र फैसला सुनाउने व्यक्तिहरू नै अहिले संसद् विघटनको पक्षमा उभिनु गम्भीर विरोधाभास भएको टिप्पणी गर्नुभएको हो।

अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई नियुक्त गरी संसद् विघटन गर्ने प्रयास भइरहेको चर्चा बाहिरिएको सन्दर्भमा पोखरेलले त्यसप्रति खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो, त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ।