जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार २१:०७

सुशीला कार्की प्रधानमन्त्री नियुक्त, राष्ट्रपतिले प्रयोग गरे संविधानको धारा ६१


काठमाडौं, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ प्रयोग गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन हुने गरेकोमा राष्ट्रपति पौडेलले धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । तर, जेन–जी आन्दोलनका बलमा प्रधानमन्त्री बन्नुभएकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाउनु भएको हो ।

नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था रहेको छ । जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन । संविधानको धारा ६१ को उपधारा १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ । राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ ।

राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा प्रयोग गरी प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । संबैधानिक कानूनका ज्ञाताहरुसँगको परामर्शमा राष्ट्रपति पौडेलले यो धारा प्रयोग गर्नुभएको हो ।