जनता टाइम्स

२८ भाद्र २०८२, शनिबार १३:०३

संक्रमणको निराकरण संवैधानिक प्रक्रियाबाटै हुनुपर्छ, संविधानलाई लिकमा फर्काउन धैर्यतापूर्वक अघि बढ्नुपर्छ : याेगेश भट्टराई


काठमाडौं, भदौ २८ । नेकपा एमालेका सचिव योगेश भट्टराईले हालको राजनीतिक संकटलाई संवैधानिक प्रक्रियाबाट मात्र समाधान गर्न सकिने बताउनु भएको छ।

सामाजिक सञ्जालमार्फत १२ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै उहाँले भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएकाे छ । ‘नेपाल फेरि संक्रमणकालमा प्रवेश गरेको छ,’ भट्टराईले भन्नुभयो, ‘तर संसद विघटन संक्रमण निधानको सही बाटो होइन, संक्रमणको निराकरण संवैधानिक प्रक्रियाबाटै हुनुपर्छ।’

उहाँले जेनेरेशन–जेड (Gen-Z) युवाहरूका माग पनि संसदमार्फत सम्बोधन गर्न सकिने भए पनि संसद विघटन गरेर गलत बाटो रोजिएको आरोप लगाउनुभयो। ‘राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ, उहाँलाई संसदबाटै प्रधानमन्त्री बनाउन सकिन्थ्यो,’ उहाँको भनाइ छ ।

भट्टराईले संविधानलाई उपेक्षा गर्दा यसको खारेजीको जोखिम हुने चेतावनी दिँदै नयाँ संविधान बनाउन सहज नहुने तर्क प्रस्तुत गर्नुभयो। ‘संविधान र लोकतन्त्रलाई पुनः लिकमा फर्काउन सजिलो छैन,’ उहाँले भन्नुभयो, ‘यसका लागि धैर्यतापूर्वक अघि बढ्नुको विकल्प छैन।’

भ्रष्टाचार, कुशासन र बेथिति समाजका नकारात्मक पाटा भएको उल्लेख गर्दै भट्टराईले यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएकाे छ। उहाँले एमालेले भौतिक संरचना निर्माणमा ठूलो उपलब्धि हासिल गरे पनि भ्रष्टाचार नियन्त्रणका लागि अपेक्षित स्तरमा प्रयास गर्न नसकेको स्वीकार गर्नुभएकाे छ ।

‘जनताको आवाज, युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्न हामी कतै चुकेका छौं,’ उहाँले भन्नुभयो, ‘यी कमजोरीका लागि आत्मालोचना गर्दै जनतासँग माफी माग्छौं, किनकि राजनीतिक दल जनताबिना बाँच्न सक्दैन।’

भट्टराईले युवाहरुलाई एमालेमै तान्न संरचनागत सुधारको आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार एमाले पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मको मिश्रित नेतृत्व भएको भए पनि Gen-Z पुस्तासँगको सम्बन्ध कमजोर देखिएको छ। ‘यसको गम्भीर समीक्षा गर्छौं,’ उहाँले प्रतिवद्धता जनाउँदै भन्नुभयो, ‘एमालेलाई नयाँ, युवा–मैत्री, जनमुखी र प्रगतिशील बनाउन संरचनागत सुधार गर्छौं।’

संकटको समयमा पार्टी छोड्ने प्रवृत्ति राम्रो नभएको उल्लेख गर्दै उहाँले पार्टी छोडेर गएका सबैलाई पुनः एमालेमा फर्कन आग्रह गर्नुभयो। समाज र व्यक्तिको रुपान्तरण आजको आवश्यकता भएको भन्दै उहाँले सबैलाई परिवर्तनशील बन्न आह्वान गर्नुभयो।