जनता टाइम्स

२८ भाद्र २०८२, शनिबार १९:४९

संविधान बाँच्यो, संसदीय प्रणाली बाँच्यो, अब निर्वाचन सफल पार्न सबै लागौँ : राष्ट्रपति


काठमाडौं, भदौ २८ । देश गम्भीर राजनीतिक अस्थिरता र भयावह अवस्थाबाट गुज्रिरहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले कठिन प्रयासपछि शान्तिपूर्ण निकास निकालिएको बताउनुभएको छ। उहाँले संविधान र संसदीय प्रणाली जोगिएको उल्लेख गर्दै अब फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल पार्न सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभएको छ।

राष्ट्रपतिले शनिबार जारी गर्नुभएको वक्तव्यमा भन्नुभएको छ, ‘संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ, ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर जनताले पाएका छन्।’

उहाँले यस अवसरलाई ‘बडो जुक्तिले प्राप्त भएको’ भन्दै यसको सदुपयोग गर्न राजनीतिक दल, नागरिक समाज, राज्यका अङ्गहरू र सम्पूर्ण जनतालाई आह्वान गर्नुभएको छ। हालैको राजनीतिक सङ्कट समाधानका लागि राष्ट्रपतिले दलहरूबिच भएको सहमति र संवादलाई निर्णायक मोडको रूपमा व्याख्या गर्नुभएको छ। उहाँले ‘अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थिति’ बाट देशलाई जोगाउन संविधानको मर्मअनुरूप अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रपतिले भन्नुभएकाे छ, ‘जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी निर्वाचन सम्पन्न गराउने काममा सबै पक्षले सहयोग गर्न जरुरी छ।’

प्रधानमन्त्री सुशीला कार्कीकाे सिफारिस अनुसार राष्ट्ररपतिले प्रतिनिध सभा विगठन गरी आगामी फागुन २१ गते देशभर प्रतिनिधिसभा निर्वाचनकाे घाेषणा गर्नु भएकाे छ ।  उहाँले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ उद्धृत गर्दै मुलुक र नागरिकप्रतिको कर्तव्यलाई स्मरण गराउनुभएको छ।