जनता टाइम्स

३० भाद्र २०८२, सोमबार १२:०३

संसद सचिवालयले  गर्याे लुटेर लगेका सामान फिर्ता गर्न आग्रह 


काठमाडौं, भदौ ३० । संघीय संसद सचिवालयले नयाँ बानेश्वरस्थित संसद भवनमा भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा हराएका मालसामान फिर्ता गर्न तथा जानकारी उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ ।

सचिवालयले भदौ २४ गते संसद भवन र भवन परिसरमा भएको घटनापछि गरिएको स्थलगत अनुगमन, निरीक्षण र विभिन्न स्रोतबाट प्राप्त विवरणअनुसार सचिवालय स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिनसहितका विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिले लगेको पाइएको जनाएको छ ।

उक्त मालसामान कसैसँग भएमा तुरुन्तै फिर्ता गर्न आग्रह गर्दै सचिवालयले ती सामग्रीहरू कहाँ, कसरी र कोसँग रहेको भन्ने जानकारी भएमा समेत खबर दिन अनुरोध गरेको छ । साथै, त्यस्ता सामग्री लगिएको भिडियो भएमा उपलब्ध गराई सहयोग गर्न पनि अपिल गरिएको छ ।

सचिवालयले भिडिओ वा सूचना दिने व्यक्तिको परिचय पूर्ण गोप्य राखिने प्रतिवद्धता जनाउँदै सहयोगका लागि आह्वान गरेको छ ।