काठमाडौं, भदौ ३०। नेकपा (एमाले) स्थायी कमिटी सदस्य राजन भट्टराईले हालको प्रतिकूल परिस्थितिमा विचलित नहुन आग्रह गर्दै अघिल्ला जस्तै कठिन क्षणलाई पनि कार्यकर्ता पंक्तिले अवसरमा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
भट्टराईले हालको घटनालाई अपूरणीय मानवीय र भौतिक क्षति पुर्याउने अत्यन्तै दुखद घटना भन्दै मृतकप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएकाे छ। उहाँले ‘समयले पर्खँदैन, हामी चुप लागेर बस्न पनि सक्दैनौँ, आवश्यक कुरा वस्तुनिष्ठ विश्लेषण गरेर सही निष्कर्षमा पुग्नु हो’ भन्दै भावनामा बग्नुभन्दा कमजोरी सच्याएर भविष्यका चुनौतीका लागि तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विगतका कठिन क्षणहरूलाई सम्झाउँदै २०५० सालमा जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्या, २०५४ सालमा भएको एमाले विभाजन, माओवादी हिंसाले जलेको देश र झण्डै ५ सय कार्यकर्ताको बलिदान, राजाको निरङ्कुश शासन, २०६५ सालको निर्वाचनको पराजय तथा हालै २०७७/७८ सालतिर नेताहरूको विश्वासघातका घटना उदाहरणका रूपमा प्रस्तुत गर्नुभएकाे छ ।
भट्टराईले यी सबै प्रतिकूलतामा देशभक्त, इमानदार र पार्टीप्रति बफादार कार्यकर्ता पंक्तिले नै एमाले र आन्दोलनलाई जोगाएको बताउनुभएकाे छ। ‘त्यसैले आजको प्रतिकूलतालाई पनि कार्यकर्ता र नयाँ पुस्ताले अवसरमा रूपान्तरण गर्दै अघि बढाउनेछन् भन्ने विश्वास गर्नुपर्छ’, उहाँले भन्नु भएकाे छ ।
उहाँले पार्टी कार्यकर्तालाई दृढ निश्चयकासाथ विचलित नहुन र सङ्घर्षका कठिन घडीलाई दृढतापूर्वक सामना गर्ने आह्वान गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्