काठमाडौं, भदाै ३१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले असोज ३ गते संविधान दिवसलाई भव्यतापूर्वक मनाउन सबै प्रदेश र जिल्लाका संगठनहरूलाई निर्देशन दिएको छ। महासचिव शंकर पोखरेलले सोमबार प्रदेश र जिल्ला कमिटीहरूलाई पठाउनुभएको पत्रमा संविधान दिवसलाई विशेष कार्यक्रमसहित मनाउन भनिएको छ।
उहाँले भन्नुभएको छ, ‘२०६२/६३ को ऐतिहासिक जनआन्दोलनको जगमा गठन भएको संविधानसभाबाट नेपालले २०७२ सालमा संविधान प्राप्त गरेको हो। संविधानसभाको पहिलो बैठकबाट मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो। यही संविधानमार्फत नेपाली जनता पूर्ण सार्वभौमसत्ता सम्पन्न भएका हुन्।’
संघीयता र समावेशी लोकतन्त्रको आधारशिला पनि यही संविधान भएको हुँदा असोज ३ गतेको दिनलाई संविधान दिवसका रूपमा राज्यस्तरमै मनाइँदै आएको उल्लेख गर्दै उहाँले यस्तो अवसरमा एमालेले पनि देशव्यापी विशेष कार्यक्रम गर्दै आएको जानकारी दिनुभएको छ। भदौ २३ र २४ गते घटेका दुःखद् घटनापछि राजनीतिक परिस्थिति असहज बनेको जनाउँदै महासचिव पोखरेलले संवैधानिक व्यवस्थालाई कमजोर बनाउन खोज्ने सुनियोजित षड्यन्त्रहरू भइरहेको आरोप लगाउनुभएको छ। उहाँले युवाहरूको माग र चाहनाविपरीत मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सचेत रहनु पर्ने बताउनुभएको छ।
उहाँले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै असोज ३ गतेका दिन पार्टीका तर्फबाट सबै जिल्लामा संविधान दिवसको कार्यक्रम भव्य रूपमा मनाइने जानकारी दिनुभएको छ। काठमाडौं उपत्यकामा भने पार्टी केन्द्रीय कार्यालय च्यासलको प्राङ्गनमा कार्यक्रम आयोजना हुने भएकाले आवश्यक तयारीमा जुट्न निर्देशन दिनुभएको छ।













प्रतिक्रिया दिनुहोस्