काठमाडौं, भदौ ३१ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्तमकुमार कार्कीले जेन–जेड आन्दोलनका क्रममा घटेका घटनाहरूको न्यायिक छानबिन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
नेकपा एमाले मोरङले विराटनगरमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको इतिहासमै अकल्पनीय र दुःखद घटना भएको बताउनुभयो। उहाँले दोषीलाई कानुनी कारबाही गर्न आवश्यक रहेकोमा जोड दिनुभयो। ‘जेन–जेडको आवरणमा भएका षड्यन्त्रमूलक क्रियाकलापहरू गम्भीर छन्। यसको विविध पाटोहरू क्रमशः पटाक्षेप हुँदै जानेछन्,’ उहाँले भन्नुभयो।
देशको सार्वभौमसत्ता नै संकटमा पर्ने गरी एकले अर्कोको विरुद्ध प्रयोग गरिएको अवस्थामा दोषीहरूले राष्ट्रमै खतरा पैदा गरेको कार्कीको भनाइ छ।
नेतृत्वसम्बन्धी प्रश्नबारे पनि मुख्यमन्त्री कार्कीले नेकपा एमालेभित्र छलफल हुने र वैधानिक प्रक्रियाबाटै यसको छिनोफानो हुने स्पष्ट पार्नुभयो। ‘सङ्कटको बेलामा नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार भइरहेका छन् तर विधि र प्रक्रियाबाटै नेतृत्वको परिवर्तन हुन्छ,’ उहाँले भन्नुभयो।
मुख्यमन्त्री कार्कीले अहिले नेपाली कांग्रेस र एमालेप्रति छानिछानी प्रहार भइरहेको बताउँदै यी दुई ठूला पार्टी मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले अहिलेको सरकार संविधान विपरीत गठन भएको एमालेको ठहर रहेको प्रष्ट पार्दै पनि पार्टी चुनावी बाटाबाट पछि नहट्ने बताउनुभयो।

भदौ २३ गतेको घटनापछि पहिलोपटक कोशी प्रदेशमा एमालेले कार्यकर्ताको भौतिक उपस्थितिसहित अगुवा कार्यकर्ता भेला गरेको हो।
भेलालाई सम्बोधन गर्दै एमाले नेता विनोद ढकालले हालका घटनामा देशी–विदेशी शक्तिहरूको भूमिका रहेको दाबी गर्नुभयो। उहाँले नेतृत्वलाई आलोचना होइन, संरक्षण गर्दै सार्वभौमसत्ता जोगाउन आवश्यक रहेको बताउनुभयो । पार्टीलाई जेन–जेड पुस्ताको मागअनुसार रूपान्तरण गर्दै लैजानुपर्ने उहाँको धारणा छ ।
कार्यक्रममा एमालेका नेता जीवन घिमिरे, युवराज बाँस्कोटा, घनश्याम खतिवडा लगायतले सम्बोधन गर्नुभएको थियो। भेलामा करिब २० जना कार्यकर्ताले खुला छलफलमार्फत पार्टी नेतृत्वलाई सुझावहरू प्रस्तुत गर्नुभएको थियो।













प्रतिक्रिया दिनुहोस्