काठमाडौं, असोज १ । जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरी निसानामा पारिएको तथ्यले देखाएको छ । आन्दोलनको क्रममा प्रहरीतर्फ मानवीयका साथै ठूलो मात्रामा भौतिक क्षति भएको छ । आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ भदौ २३ गते खासै क्षति नभए पनि २४ गतेको प्रदर्शनमा भयङ्कर क्षति हुन पुगेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो दिनको आन्दोलनमा केही प्रहरी मात्र सामान्य घाइते भएका थिए । तर दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो । सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी २१ जनाको ज्यान गयो ।
प्रदर्शनकारीहरू एभरेष्ट होटेल अगाडिको ब्यारिकेट तोड्दै संसद् भवन प्रवेश गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउँदै सेना परिचालन गरेको थियो । तर सेनाले धोका दिएपछि प्रहरी भदौ २४ गते निसानामा पर्यो ।
तीन जनाको हत्या भयो भने देशभरका कार्यालय जलाउने र हतियार लुटपाट मच्चाइयो । भदौ २४ गते दिउँसैबाट भएको तोडफोड र आगजनी राति १० बजेसम्म निरन्तर चल्यो । राति १० बजेबाट सेनाले सम्पूर्ण सुरक्षा कमान्ड आफ्नो हातमा लिँदै फिल्डमा उत्रिएपछि बल्ल आगजनी, तोडफोड र लुटपाट मत्थर भएको थियो ।
राति १० बजेसम्मको तोडफोड र आगजनीबाट प्रहरी कार्यालयहरू खरानी बनेका थिए । ज्यान बचाउनकै लागि प्रहरीहरू कार्यालय छाडेर भाग्नुपर्ने अवस्था बनेको थियो । केही प्रहरीले बर्दी फुकालेर भाग्दै ज्यान बचाए । केहीले बर्दी फुकाल्दै हाड उठाएर प्रदर्शनकारीसँग आत्मसमर्पण गरे । आत्मसमर्पण गर्दा पनि तीन जनाको कुटपिटबाट ज्यान गयो ।

साढे ४ सय भवन ध्वस्त
प्रदर्शनकारीले प्रहरीका भवनमा तोडफोड र आगजनी गर्नुका साथै गाडी जलाउने, लुट्नेसम्मका काम गरे । त्यसक्रममा देशभर नेपाल प्रहरीका कार्यालयमध्ये करिब साढे ४ सय भवन ध्वस्त भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।
प्रहरीका सहप्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार देशभर प्रहरीका ४४५ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ । जसमध्ये १९७ प्रहरी कार्यालय पूर्ण रुपमा क्षति भएका छन । ती कार्यालयहरूमा मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने अवस्था छैन ।
यस्तै २५८ वटा प्रहरी कार्यालय भने आशिंक क्षति भएकाले मर्मत गरेर पुनः प्रयोग गर्न सकिने एसएसपी थापाको भनाई छ । सबैभन्दा बढी क्षति उपत्यकामै भएको छ । काठमाडौं उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ । एआईजी बस्ने रानीपोखरीको कार्यालयमा समेत प्रदर्शनकारीहरूले आगो लगाएका छन । उपत्यकाका डीएसपीले कमान्ड गर्ने १८ वटा प्रहरी वृत्तमध्ये मालीगाउँ वृत्त मात्रै आगजनी र आक्रमणबाट जोगिएको छ । यस्तै प्रहरीका कार्यालयमा रहेका सवारी कति जले भन्ने यकिन तथ्यांक अझै आउन सकेको छैन ।

११ सय थान हतियार लुटपाट, गोलीका एकिन छैन
प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड र आगजनीपछि हतियारसमेत लुटेका छन । प्रहरीका हतियार लुटेर पोजिसन लिँदै गरेको भिडिओ, तस्वीर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए । लुटिएका हतियारहरूमध्ये करिब ३ सय थान नेपाली सेनाले बरामदसमेत गरेको थियो ।
प्रदर्शनमा सानाठूला गरी प्रहरीका ११ सय थान हतियार लुटिएका छन । पेस्तोल, बन्दुक, ग्यास गनलगायत हतियार लुटिएको प्रहरीको भनाइ छ । आन्दोलनमा लुटिएको गोलीको त हिसाब नै छैन ।
१९६३ प्रहरी घाइते
जेन–जीको प्रदर्शनमा काठमाडौंदेखि देशभर १ हजार ९६३ प्रहरी घाइते भएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । घाइतेमध्ये १ हजार ९३९ जना उपचारपश्चात् डिस्चार्ज भएर घर फर्किसकेका छन भने २४ जना भने अझै अस्पतालमा उपचाररत रहेका छन । प्रदर्शनको क्रममा तीन प्रहरी मारिएका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वृत्त महाराजगञ्जकै जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीको तर्फबाट मारिएका हुन । जेनजी आन्दोलनमा प्रहरी र प्रदर्शनकारीसमेत गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्