काठमाडौं, असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसको अवसरमा शुभकामना दिँदै मुलुकमा हाल देखिएका अराजक गतिविधिबाट सचेत रहँदै संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्न सबैलाई आह्वान गर्नुभएको छ।
उहाँले जारी गर्नुभएको अपिलमा हालै ‘जेनजी’ नामक युवा आन्दोलनका नाममा देखिएको घटनाक्रमले मुलुकलाई गम्भीर अनिश्चितता र अराजकतातर्फ धकेलेको उल्लेख गर्नुभएको छ। भ्रष्टाचार अन्त्य, सुशासन, प्रभावकारी सेवा प्रवाह र सामाजिक सञ्जालमा नियन्त्रण हटाउने मागसहित सुरु भएको आन्दोलनलाई नियोजित षड्यन्त्रकारीहरूले हिंसात्मक रूप दिन खोजेको उहाँको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनमाथि भएको अस्वाभाविक दमन र त्यस क्रममा युवाहरूको ज्यान गुम्नु दुःखद भएको बताउनुभयो। त्यसपछि भएका तोडफोड र आगजनीले मुलुकको खर्बौँ मूल्य बराबरको भौतिक सम्पत्ति मात्र नभई राष्ट्रिय प्रतीक र गौरवका संरचनाहरू समेत क्षति पुर्याएको उहाँले स्मरण गर्नुभयो। उहाँका अनुसार सिंहदरबार, शीतल निवास, संघीय संसद् भवन, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न सरकारी तथा अर्धसरकारी कार्यालय, निर्वाचित जनप्रतिनिधि संस्था, प्रमुख दलका कार्यालय, निजी व्यावसायिक प्रतिष्ठान र नेताहरूका निजी निवाससमेत तोडफोड तथा जलाइएका छन्।
उहाँले यी गतिविधिहरू युवाहरूको क्षणिक उत्तेजनाको परिणाम मात्र नभई योजनाबद्ध षड्यन्त्रको उपज भएको स्पष्ट गर्नुभयो। यससँगै सरकारसँग पूर्वसूचना रहे–नरहेको वा बेवास्ता गरिएको भन्ने चासोसमेत सर्वसाधारणमा रहेको भन्दै यसको जवाफ र समीक्षा आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एमाले) ले अहिलेको असहज परिस्थितिबारे पार्टीस्तरमा गम्भीर समीक्षा गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ‘विगतको भूमिकाबारे र आगामी यात्राबारे नेकपा (एमाले) ले वस्तुनिष्ठ समीक्षा गर्नेछ, कमजोरीहरूको मूल्याङ्कन हुनेछ र पार्टीलाई अझ व्यवस्थित तथा प्रभावकारी बनाइनेछ।’
उहाँले कठिन परिस्थितिमा पनि एमालेलाई रूपान्तरणकारी आन्दोलनको पर्यायका रूपमा आम नेपालीले विश्वास गरेको भन्दै पार्टीको झण्डामुनि गोलबद्ध रहन सबैसँग आग्रह गर्नुभयो। उहाँले भावनात्मक आवेग, उत्तेजना वा पलायनवादी चिन्तनबाट टाढा रहँदै इतिहासको गौरव, आर्जन गरिएको साख र परिवर्तनप्रतिको निष्ठामा अडिग रहन सबैलाई प्रेरित गर्नुभयो।
‘यसो गरेर मात्र लोकतान्त्रिक संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिन्छ भन्ने कुरामा नेकपा (एमाले) पूर्ण विश्वास गर्दछ,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले अपिलमा उल्लेख गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्