काठमाडौं, असोज ३ । जेन–जी आन्दोलनमा आक्रमणको शिकार बन्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउँकोमा १२ वटा टाका लगाउनु परेको तथ्य खुलेको छ ।
भदौ २४ गते घरैमा आन्दोलनकारीको आक्रमणमा पर्नुभएका सभापति देउवाको टाउँको फुटेकोले १२ टाका लगाउनु परेको हो । आन्दोलनकारीले देउवापत्दी डा. आरजु देउवा राणामाथि पनि आक्रमण गरेका थिए । सो घटनामा देउवा दम्पत्ती नै घाइते हुनुभएको थियो ।
हाल उहाँको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको नेपाली कांग्रेसले जनाएको छ । केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवाको स्वास्थ्यबारे जानकारी दिने क्रममा १२ टाका लगाउनु परेको तथ्य खोल्नुभएको हो ।
‘सुरुमा हामी अत्तालिएका थियौं । लगत्तै स्वास्थ्य उपचार राम्रो हुँदै गयो । उहाँहरू अहिले सामान्य अवस्थामा हुनुहुन्छ । स्वास्थ्यमा सुधार भइरहेको छ,’ विश्वकर्माले भन्नुभयो । सभापति देउवाको उपचार कहाँ भइरहेको छ भन्ने बिषयमा भने बिश्वकर्माले केही खुलाउनु भएन ।
‘सभापतिज्यू (देउवा) ले दिनुभएको जानकारीअनुसार गर्दनभन्दा माथि गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ । त्यो भन्दा तल सामान्य चोट छ । त्यो टाँका लागेको ठाउँ र चोट निको हुँदै गएको अवस्था छ,’ बिश्वकर्माले भन्नुभयो । बिश्वकर्मामा अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति देउवा अहिले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा छन् ।
‘उहाँ सामान्य बोलचाल, हिँडडुल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । पार्टी र अन्य साथीहरूसँग पनि बोलचाल गर्नसक्ने अवस्थामा हुनुहुन्छ । चाँडोभन्दा चाँडो स्वास्थ्यमा सुधार भइरहेको अवस्थामा छ,’ उहाँले भन्नुभयो । चिकित्सकले केही दिन अझै अस्पतालमा राख्नुपर्ने बताएको जानकारी पनि बिश्वकर्माले दिनुभयो । ‘केही दिन अझै अस्पतालमा राख्ने । उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भइरहेको छ,’ बिश्वकर्माले भन्नुभयो । तर कुन अस्पतालमा उपचार भइरहेको भन्ने बिषयमा भने बिश्वकर्माले केही खुलाउनु भएन ।
चिकित्सकले धारिलो हतियारबाट घाउ लागेको बताए पनि के हतियार भन्ने चाहिँ नखुलेको जानकारी उहाँले दिनुभयो । जेन–जी आन्दोलनकारीहरूले गरेको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै भदौ २४ गते देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो ।
कुटपिटका क्रममा गम्भीर घाइते भएका दुवै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर, आक्रोशित युवाहरूले त्यतिबेला अवरोध गरेका थिए । पछि सेनाले स्थलमार्ग हुँदै बुढानीलकण्ठबाट उद्धार गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्