जनता टाइम्स

४ आश्विन २०८२, शनिबार १८:५७

जेनजी आन्दोलनमा लुटपाट गर्नेमाथि प्रहरीले थाल्यो सर्च अपरेशन, घर लुट्ने ३ जना सामानसहित पक्राउ


काठमाडौं, असोज ४ । जेनजी आन्दोलनको नाममा लुटपाट मच्चाउने समुहमाथि प्रहरीले सर्च अपरेशन शुरु गरेको छ । आन्दोलनको आफै सिकार बनेको प्हरीले परिस्थितिलाइृ सम्हाल्दै अव मौका छोपेर लुटपाट गर्नेहरूमाथि अपरेशन अघि बढाएको हो ।

यसैक्रममा काठमाडौंको रातोपुलस्थित एक घरमा लुटपाट तथा चोरीमा संलग्न ३ जनालाई लुटपाट गरेको सामाग्रीसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका ३ घर भई काठमाडौं रातोपुल बस्दै आएका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर भएका १८ वर्षीय नयुन श्रेष्ठ र हेटौंडा ५ घर भई रातोपुल बस्ने १८ वर्षीय अगम प्रजा रहेका छन । तीनै जनामाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार २४ गते भएको उक्त घटनामा संलग्नहरू शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा डेरा खानतलासी गर्दा उनीहरूले लुटेर लगेको सामान बरामद भएको हो । उनीहरूबाट चोरिएका कपडा, मूर्तिहरू, सुनचाँदीलगायतका दर्जनौं सामान बरामद गरिएको छ । यो लुटेरा समुहले काठमाडौंको थुप्रै स्थानमा लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।