जनता टाइम्स

८ मंसिर २०७६, आईतवार १४:३२

यस्तो छ काठमाडौंको आकाशमा शनिवार देखिएको अनौठो जहाजको बास्तविकता


काठमाडौं, मंसिर ८ । शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका छन् । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन ।

हवाई क्षेत्रका जानकारहरुले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् यस्तै केही सञ्चारमाध्यममा चर्चाको विषय पनि बन्यो । यो जहाजलाई भारतीय लडाकु बिमान वा जासुस बिमान हुन सक्ने अड्कल पनि कतिपयले गरे । तर, विज्ञहरुका अनुसार आकासमा कलात्मक देखिने गरी धुवाँ फाल्ने जहाजको विषय अर्कै हो । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन दीप ज्वार्चनका अनुसार आकासमा यसरी देखिने जहाजको पुच्छरजस्तो आकृतिलाई ‘कन्ट्रेल्स’ भनिन्छ ।

सामान्यतया तातो हावा रहेको आकासमा विमान उडिरहँदा वा जमीनबाट नजिक उड्दा धुँवा देखिदैन । तर, जति माथि जहाज गयो, त्यति नै वातावरण चिसो हुँदै जान्छ । प्रति १ हजार फिट उचाइमा २ डिग्री तापक्रम घट्छ । लामो दूरीमा यात्रा गर्ने जहाजहरु ३५ हजार फिटसम्मको उचाइमा उड्छन् । नेपालमा आन्तरिक जहाजहरु १ हजारदेखि १७ हजार फिटसम्मको उचाइमा मात्र उड्ने गर्छन् । काठमाडौंमा अवतरणका लागि आएका अन्तर्राष्ट्रिय जहाज पनि नेपालमा छिर्दा तल झरिसकेका हुन्छन् ।

‘काठमाडौंमा अवतरण नगर्ने तर नेपालको आकास हुँदै उड्ने अन्तर्राष्ट्रिय उडानका जहाजले चाहिँ धुवाँ फाल्दा कलात्मक आकृति देखिने गर्छ,’ जब आकासको तापक्रम अत्यन्तै कम हुन्छ, जहाजले नियमित उडानकै दौरान फाल्ने धुँवा चिसो मौसमका कारण बाहिर निस्कनासाथ जम्छ र पानी बन्छ । जसले गर्दा जहाजको पुच्छरजस्तो आकृति बन्छ । यही आकृतिलाई धेरैले अनौठो जहाज, जासुस जहाज वा लडाकु जहाजका भन्ने गर्छन । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालको आकाश अहिले भूटानबाट दिल्लीका लागि उड्ने जहाजले पनि प्रयोग गर्छन् । ती जहाजले काठमाडौं टावरलाई आफू नेपालको आकासमा उडिरहेको जानकारी गराउँछन् ।

नेपाल नागरिक उडेडयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले नेपाली आकासमा उड्ने सबै जहाजको रेकर्ड काठमाडौं टावरलाई थाहा हुने भएको बताउनुभयो । नेपालको अनुमतिबिना कुनै पनि जहाज नेपाली आकाशमा छिर्न नपाउने उहाले भन्नुभयो । काठमाडौंको उचाई समुद्र सतहबाट ४ हजार फिट रहेको छ । काठमाडौंको तापक्रम २० डिग्री छ भने ३५ हजार फिट उचाइमा तापक्रम ९४२ डिग्रिसम्म पुगेको हुन्छ । जमीनबाट ८.९ किलोमिटर माथि उचाइमा उड्दा त्यहाँको वातावरणको प्रतिक्रियाले देखिने आकृतिलाई जासुस वा लडाकु विमान भन्दै भ्रम पर्ने गरेको छ ।

अमेरिकी स्पेस एजेन्सी (नासा)ले उल्लेख गरेअनुसार पहिलोपटक सन् १९२० मा यस प्रकारको बादल आकासमा देखिएको थियो । त्यसबेला विश्वयुद्ध चलिरहेको थियो । सामान्यतया आकास खुला भएको समयमा यस्तो दृष्य देखिने गरेको छ । विश्वभर दैनिक ९० हजार उडान हाइअल्टिच्यूडमा हुने अनुमान गरिन्छ ।