सिक्किम, कात्तिक ७ । छिमेकी मुलुक भारतको सुन्दर हिमाली राज्य सिक्किमको उच्च अदालतले हाल प्रयोगमा आउन छाडेका नेपाली वर्णमालाका अक्षरहरुलाई पुनःस्थापित गर्न आदेश दिएको छ । पहिले वर्णमालामा रहेका र हाल प्रयोग गर्न छाडिँदै गएका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका नेपाली बर्णमालाका अक्षरहरुको प्रयोग अनिवार्य गर्न उच्च अदालतले आदेश दिएको हो ।
सिक्किममा पहिले नेपाली वर्णमालाका क, ख, ग पढाउने बेलामा ती अक्षरहरु पढाउने, लेखाउने गरिन्थ्यो तर पछि आधुनिकतासँगै ‘ण’लाई ‘न’ले विस्थापित गरेको थियो । साथै तालब्य ‘श’को सट्टा दन्त्य ‘स’ लेख्ने गरिन्छ । यसैगरी ऋ अक्षरलाई ‘रि’ लेख्न थालिएको छ । अन्य अक्षरहरु पनि बोलीचालीको शैलीमा लेख्न र भन्न थालिएको छ ।
विद्यालय, विश्वविद्यालय, पत्रिका, साहित्यिक कतिपय किताबहरुमा यी अक्षरहरु प्रयोग हुन छाडिएपछि आफ्ना बालबालिकालाई नेपाली सिकाउने अभिभावक अन्यौलमा परेका थिए । यहीबीच सिक्किमका अवकाश प्राप्त नेपाली भाषाका शिक्षक तथा साहित्यकार धनराज गुरूङले सिक्किम विश्वविद्यालय, भारतको शिक्षा विभाग र सिक्किम राज्य सरकारलगायतलाई विपक्षी बनाएर ७ अगस्त २०२५ मा सिक्किम उच्च अदालतमा रिट दायर गर्नुभएको थियो । गुरूङले यी अक्षरहरु हटाइदिँदा भाषिक शुद्धता र पहिचानमा गम्भीर असर परिरहेकाले ती अक्षरहरुको प्रयोग अनिवार्य गर्न आदेशको माग गर्नुभएको थियो ।
उहाँको सोही रिटमा सुनुवाइ गर्दै सिक्किम उच्च अदालतका मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दार र न्यायाधीश मिनाक्षी मदन राईको संयुक्त इजलासले वर्णमालाबाट हराउन लागेका नेपाली भाषाका अक्षरहरुलाई मौलिक पहिचानसहित फर्काउन र प्रयोग अनिवार्य गर्न आदेश दिएको हो ।
‘नेपाली वर्णमालाको संरक्षण गर्न जरुरी छ । किनभने भाषा केबल सम्वादको रुपमा मात्र होइन, बरु पहिचान र संस्कृतिको आधार पनि हो,’ गुरूङको रिटको सुनुवाई गर्दै उच्च अदालत सिक्किमको आदेशमा भनिएको छ । सोही आधारमा अदालतले लेख्न र पढ्न छाडिएका नेपाली बर्णमालाका ती अक्षरहरु तत्काल प्रयोगमा ल्याउँदै त्यसको सही प्रयोग किताब र पाठ्यक्रमहरुमा सुनिश्चित गर्न आदेश दिएको छ ।
अदालतले आदेश कार्यान्वयनका लागि नेपाली भाषाविज्ञ सहितको कमिटी गठन गर्न पनि आदेश दिएको छ । सो आदेश अनुसार ६ जनाको विज्ञ समिति बनाइएको छ । सिक्किम सरकारले समितिमा सिक्किम एकाडेमीका अध्यक्ष शुक्र सुब्बा, नेपाली लोक साहित्य लेखक चन्द्रप्रकाश शर्मा, साहित्य एकाडेमी नयाँदिल्लीका शंकरदेवप्रसाद ढकाल, एनबीबी डिग्री कलेजका एसिस्टेन्ट प्रोफेसर टेकबहादुर क्षेत्री, साहित्य एकाडेमी अवार्ड बिजेता लेखक युवा बराल र सिक्किम विश्वविद्यालयको नेपाली भाषा डिपार्टमेन्ट प्रमुख प्रोफेसर डाक्टर कविता लामा हुनुहुन्छ ।
सो कमिटीलाई हरेक शिक्षण संस्थामा उच्च अदालतको यो आदेश कार्यान्वयन गराउने जिम्मेवारी दिइएको छ । साथै यदि कुनै संस्था वा लेखकले यी अक्षरहरुलाई बेवास्ता गरेको पाइएमा तिनका किताब शिक्षण संस्थामा प्रतिबन्ध लगाउन भनिएको छ । उच्च अदालतले लेखनमा सानो त्रुटीले पनि नेपाली भाषा शुद्धतामा असर गर्ने भएकाले नयाँ पिँढीका लागि यो आदेशको सही कार्यान्वयन जरुरी रहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्