जनता टाइम्स

९ कार्तिक २०८२, आईतवार १७:३३

निवर्तमान मन्त्रीकै सल्लाहकार बनिन जेनजी सरकारको स्वास्थ्यमन्त्री


काठमाडौं, कात्तिक ९ । निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सल्लाहकार नै जेनजी सरकारको मन्त्री बनेर स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएकी छन ।

राष्ट्रपति रामचन्द्र पौडेलेको बिशेष जोडबलमा प्रधानमन्त्री सुशिला कार्कीले निवर्तमाज सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी विज्ञ सल्लाहकार रहनुभएकी डा. सुधा शर्मा गौतमलाई स्वास्थ्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले डा गौतमलाई मन्त्री पदको शपथसमेत गराइसक्नु भएपछि उहाँले आइतवार नै पदबहाली गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री बन्नुभएकी शर्मालाई निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विज्ञ सल्लाहकार नियुक्त गर्नुभएको थियो । नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य रहेको केपी ओली नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्यन्त्री रहनुभएका कांग्रेस नेता पौडेलले पार्टी निकट गौतमलाई बिज्ञ सल्लाहकार बनाउनु भएको थियो ।

पूर्वस्वास्थ्य सचिवसमेत रहनुभएकी शर्मा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालानिकट चिकित्सकका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँ कांग्रेसको पालामा अवसर लिनेमा अग्रपङ्तीमा रहँदै आउनुभएको छ । अहिले पनि राष्ट्रपति कांग्रेसबाटै बनेको मौकाको फाइदा उठाउनु भएको हो ।

कार्की सरकारमा आफ्नो सल्लाहकार मन्त्री बनेपछि कांग्रेस नेता प्रदीप दंग बनेको उहाँ निकटहरूले बताएका छन । मन्त्रालयमा आफूले चाहेको काम हुने भयो भन्दै पौडेलदेखि कांग्रेस महामन्त्री गगन थापासम्म दंग बन्नुभएको खुलासा कांग्रेस निकटकै युवाहरुले मन्त्रालयमै गरेका हुन ।

‘हजुर मन्त्री बनेपछि प्रदीप दाईदेखि गगन दाइसम्म खुसी हुनुभएको छ । सन्देश सुनाइ दिन भन्नुभएको छ,’ मन्त्रालयमै बधाई दिन पुगेकाहरुको भनाई उधृत गर्दै प्रत्यक्षदर्सीले जनताटाइम्स डटकमसँग भने । नेपाल चिकित्सक संघको पूर्वअध्यक्ष शर्मा कांग्रेस सरकारबाट धेरै अवसर पाउनेको सूचीमा रहेको देखिन्छ ।

साढे तीन वर्ष स्वास्थ्य सचिव रहेर तात्कालीन मन्त्री राजेन्द्र महतोसँगको विमतिले राजीनामा दिनुभएकी शर्मा त्यसपछि आईएनजीओतिर लाग्नुभएको थियो । सोही जागिर नै जेनजी आन्दोलनपछि शर्मालाई मन्त्री बनाउने हतियार बनेको छ ।

संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओमा सल्लाहकार हुँदै युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको रूपमा काम गर्नुभएकी शर्मा स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकार भएर उनको नेतृत्वमा सेफ मदरहुड तथा न्युबर्न हेल्थ रोडम्याप बनाउने कामको नेतृत्व लिनुभएको थियो। सो काम गर्दागर्दै जेनजी आन्दोलनले सरकार ढलेपछि शर्मा सल्लाहकारबाट सिधै मन्त्री बन्नुभएको हो ।

कार्यभार सम्हालेपछि मन्त्रीका रुपमा शर्माले स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय नै जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा दिने लिनुभएको छ ।
पहिलो निर्णयका रूपमा मन्त्री शर्माले आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गर्नुभएको हो ।