काठमाडौं, कात्तिक १८ । नेकपा एमालेले भदौ २३ र २४ गतेकाे घटनापछि उत्पन्न असामान्य राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको केन्द्रीय कमिटीको दसौँ बैठक तथा सचिवालय बैठकले पारित निर्णयहरू कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन(अपानि)–१३ जारी गरेको छ। पार्टीले जारी गरेको निर्देशनमा संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि भइरहेको आक्रमणको प्रतिवाद गर्दै मुलुकलाई पुनः संवैधानिक मार्गमा फर्काउन जनआन्दोलनका तयारी गर्न आह्वान गरिएको छ।
ललितपुरको रामबाग पार्टी प्यालेसमा असोज २९ देखि ३१ गतेसम्म बसेको केन्द्रीय कमिटीको दसौँ बैठक र पाँच वटा केन्द्रीय सचिवालयका बैठकहरूले देशको असहज राजनीतिक परिस्थिति, भदौ २३–२४ का घटना, आगामी निर्वाचन र पार्टीभित्रको एकतालाई विषय बनाएका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टीको दृष्टिकोण, नीति, कार्ययोजना र आगामी आन्दोलनका कार्यक्रमहरूलाई स्पष्ट गर्दै यो निर्देशन जारी गरेको हो।
निर्देशनले भदौ २३ र २४ गतेका घटनाहरूलाई ‘राष्ट्र, जनता र लोकतन्त्रविरुद्धको सुनियोजित षड्यन्त्र’ भनेको छ र घटनाको सत्यतथ्य छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न माग गरेको छ। पार्टीले ‘जेन्जी आन्दोलन’ का नाममा भदौ २३ गते माइतीघरमा सुरु भएको प्रदर्शनमा घुसपैठ गरी हिंस्रक रुप दिइएको र त्यसबाट मुलुकलाई असामान्य अवस्थातर्फ धकेलिएको ठहर गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरी जारी गर्नु भएकाे निर्देशनमा भनिएको छ- सामाजिक सञ्जालको नियमन, सुशासन र भ्रष्टाचारविरुद्धका मागहरूप्रति कसैको विमति नभए पनि शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी हिंसा भड्काइएको र त्यसको परिणामस्वरूप विद्यार्थी तथा सुरक्षाकर्मीले ज्यान गुमाउनुपरेकोमा पार्टीले गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीले घटनामा ज्यान गुमाउने युवा, सुरक्षाकर्मी र नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
एमालेले संसद् भवन क्षेत्रमा मुठभेड सिर्जना हुने परिस्थिति जानाजानी तयार पारिएको दाबी गरेको छ। निर्देशनमा भनिएको छ- ‘शान्तिपूर्ण आन्दोलनमा विभिन्न अपरिचित समूहहरू घुसपैठ गरी निषेधित क्षेत्र तोड्न, संसद् भवन घेर्न र भित्र पस्न भड्काइयो।’ पार्टीले प्रश्न उठाएको छ- ‘त्यस्तो अवस्था सिर्जना हुन दिनु मात्र सुरक्षा त्रुटि थियो कि अन्य स्वार्थ पनि थिए ? किन सयौं युवा घाइते र दुई दर्जनभन्दा बढी मारिए ?’
एमालेले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न जोड दिएको छ। एमालेले भदौ २४ गते देशभर देखिएको तोडफोड र लुटपाटलाई ‘लामो तयारीसहितको राष्ट्रविरोधी षड्यन्त्र’ भनेको छ। पार्टीका अनुसार यो कुनै स्वतःस्फूर्त घटना नभई ‘शीतयुद्धपछिका मुलुकहरूमा गरिँदै आएको कलर रिभोल्युसन शैलीको अभ्यास’ हो, जसको उद्देश्य सरकार परिवर्तन मात्र नभई ‘मुलुकको लोकतन्त्र, संविधान र राष्ट्रियता’ समाप्त पार्ने थियो।
निर्देशनमा भदौ २३ पछिको संकटमा प्रतिनिधिसभाबाटै समाधान खोज्ने एमालेको प्रस्ताव अस्वीकार गरी संविधान बाहिरबाट सरकार गठन गरिएको भन्दै वर्तमान सरकारलाई ‘असंवैधानिक’ भनिएको छ। पार्टीको अडान अनुसार ‘गैरसांसद’ व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भएमा त्यसका लागि संसदमार्फत संविधान संशोधन गर्न सकिन्थ्यो, तर त्यसो नगरी असंवैधानिक बाटो अपनाइएको हो।
एमालेले प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक, अलोकतान्त्रिक र जनसत्ता कमजोर पार्ने कार्य’ भन्दै आपत्ति जनाएको छ। निर्देशनमा भनिएको छ- ‘यसले निर्वाचित जनप्रतिनिधिको संस्था विहीन बनाएको छ र लोकतन्त्र विरोधी शक्तिहरूलाई उत्साहित पारेको छ।’ पार्टीले प्रतिनिधिसभाको तत्काल पुनर्स्थापना गर्न माग गरेको छ।
निर्देशनले घटनासम्बन्धी सरकारले गठन गरेको आयोगमा प्रश्न उठाउँदै त्यसलाई अस्वीकार गरेको छ। एमालेका अनुसार आयोगको नेतृत्वमा रहेका व्यक्ति राजनीतिक दल र नेतृत्वप्रति पूर्वाग्रही भएकाले निष्पक्ष छानबिन सम्भव छैन। पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा स्वतन्त्र आयोग गठन गर्न माग गरेको छ।
निर्देशनमा भनिएको छ- प्रधानमन्त्री गोली चलाउने अधिकारी होइनन्, त्यसैले २३ गतेको गोलीकाण्डमा उहाँमाथि गरिएको आपराधिक प्रचार निराधार छ। पार्टीले तत्कालीन मन्त्रिपरिषद्को निर्णयहरू उद्धृत गर्दै मृतक र घाइतेका परिवारलाई राहत, निःशुल्क उपचार र निष्पक्ष छानबिन गर्ने निर्णय पहिले नै भएको स्मरण गराएको छ।
निर्देशनले फागुन २१ मा निर्वाचन गर्ने जिम्मेवारी सरकारसँग भए पनि चुनावी तयारी नदेखिएको टिप्पणी गरेको छ। पार्टीले भन्यो- ‘सरकार उल्टो बाटोमा हिँडिरहेको छ, विपक्षी दलहरूलाई धम्की दिइरहेको छ र अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गरिरहेको छ।’ एमालेका अनुसार यसले निर्वाचनको वातावरण बनाउन होइन, ‘निषेध र भीडन्तको’ दिशा लिएको छ।
पार्टीले शान्ति सुरक्षाको अवस्था जोखिमपूर्ण बनेको जनाएको छ। निर्देशनमा भनिएको छ- राज्यका निकायबाट लुटिएका १२ सयभन्दा बढी हतियार र एक लाख गोली अझै अपराधीहरूसँग छन्। सुरक्षाकर्मीहरूको मनोबल कमजोर भएको र नागरिकहरूलाई आफ्नै सुरक्षाका लागि टोलस्तरमा समिति गठन गर्न सुझाव दिइएको छ।
एमालेले भ्रष्टाचार नियन्त्रणका लागि विधिसम्मत उपाय र संस्थागत सुदृढता आवश्यक रहेको उल्लेख गरेको छ। निर्देशनमा भनिएको छ- ‘राजनीतिक प्रतिशोधका आधारमा कारबाहीले भ्रष्टाचार नियन्त्रणमा सघाउँदैन।’ पार्टीले अख्तियारजस्ता निकायलाई सुदृढ गरी पारदर्शिता र सुशासनमा अग्रणी भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याएको छ।
निर्देशनमा नवयुवाहरूका माग र आकाङ्क्षाप्रति पार्टी सकारात्मक रहेको उल्लेख छ। पार्टीले उद्यमशीलता, सीप विकास, डिजिटल नेपाल फ्रेमवर्क, एआई नीति निर्माणलगायतका पहलहरूलाई युवामैत्री नीति मानेको छ। युवाहरूलाई हिंसा र विध्वंसबाट टाढा रहन, शान्तिपूर्ण संवादमा आउन र राष्ट्र विरोधी तत्त्वहरूबाट सचेत रहन आग्रह गरिएको छ।
एमालेले सबै लोकतान्त्रिक, देशभक्त र संविधान पक्षधर शक्तिलाई एकजुट भई राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्न आह्वान गरेको छ।
असहज परिस्थितिमा पनि पार्टी एकता सुदृढ भएको उल्लेख गर्दै अनुशासन उल्लङ्घन गर्ने, अनैतिक, अराजक वा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नहरूलाई तत्काल कारबाही गर्ने व्यवस्था गरिएको एमालेले जनाएको छ। पार्टीका सबै तहका कार्यकर्तालाई एकताको भावनालाई आत्मसात् गर्न आग्रह गरिएको छ।
निर्देशन सरकारले विघटन र असंवैधानिक गतिविधिका माध्यमबाट देशलाई अराजकतातर्फ धकेलेको भन्दै देशलाई पुनः संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलन अपरिहार्य भएको उल्लेख गरिएको छ। एमालेले पार्टी, लोकतन्त्र पक्षधर दल र आमनागरिकलाई आन्दोलनका तयारीमा जुट्न आह्वान गरेको छ।
निर्देशनमा पार्टीले ‘मिशन ग्रासरूट’ अवधारणा स्मरण गर्दै प्रत्येक वडामा १० युवा पहिचान गरी नेतृत्व विकास तालिम दिने नीति अवलम्बन गरेको उल्लेख छ। प्रदेश, जिल्ला र स्थानीय तहमा युवाको न्यूनतम १५ देखि ३३ प्रतिशतसम्मको सहभागिता सुनिश्चित गर्ने निर्णयसमेत निर्देशनमा समेटिएको छ। बैशाख ११ गतेको ‘युथ सेलिब्रेसन’ कार्यक्रम र युवामैत्री बजेटीय नीति पार्टीका उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
पार्टीले मङ्सिर २७ गते काठमाडौंमा हुने एघारौँ राष्ट्रिय महाधिवेशनलाई ‘आन्दोलन र उत्सवको विशेष समारोह’का रूपमा मनाउने निर्णय गरेको छ। पार्टीले वडा, पालिका र जिल्ला तहमा हुने जनसभा, जनप्रदर्शन र जनभेला सफल पार्न सम्पूर्ण संरचना परिचालन गर्न निर्देशन दिएको छ।
पार्टी अध्यक्ष ओलीले सम्पूर्ण कार्यकर्तालाई ‘निर्देशन–१३ लाई सिर्जनात्मक रूपमा कार्यान्वयन गर्दै पार्टी र आन्दोलनलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन जुट्न’ आग्रह गर्नुभएको छ।
यस्ताे छ एमालेकाे अपानि:
[pdf-embedder url=”https://janatatimes.com/wp-content/uploads/2025/11/uml.pdf”]













प्रतिक्रिया दिनुहोस्