जनता टाइम्स

२६ बैशाख २०७६, बिहीबार १७:२४

सञ्चारमन्त्रीको काउन्टर : महेन्द्रको जय नेपाल भन्ने कांग्रेस महेन्द्रको जय नेपालवादी हो ?


काठमाडौं, वैशाख २६

सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द रहेको भन्दै विरोध जनाउदै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सरकारले काउन्टर दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले महेन्द्रले प्रयोगमा ल्याएको ‘जय नेपाल’ भन्ने कांग्रेसले ‘मेरो सरकार’ को विषय निकालेर निहुँ खोजेको आरोप लगाउनु भयो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले २०१७ सालमा महेन्द्रले बीपी कोइरालालाई अपदस्त गरिसकेपछि अन्तिममा जय नेपाल, पशुपतिनाथले सबैको कल्याण गरुन् भनेको स्मरण गर्दै भन्नुभयो, ‘कांग्रेसले महेन्द्रले भनेको जय नेपाल शब्द बोकेर हिँडेको छ । के कांग्रेस महेन्द्रको जय नेपालवादी हो ?’

उहाले बीपी कोइराला चीन जाँदा मेरो सरकार, मेरो देश भनेको स्मरण गराउँदै स–साना विषयमा नलाग्न आग्रह गर्नुभयो । ‘साना शब्दतिर हैन, मुलुकले सामाजिक, आर्थिक रुपान्तरणको कुन दिशा समातेको छ। त्यो हेर्नुपर्छ’, मन्त्री बास्कोटाको भनाई थियो ।’ विपक्षीले विरोध गर्ने र निहुँ खोज्ने सामान्य प्रक्रिया भएको मन्त्री बाँस्कोटाले उल्लेख गर्नुभयो ।