जनता टाइम्स

२ मंसिर २०८२, मंगलवार २३:४८

एमाले नेतृ रामकुमारी झाँक्रीको प्रश्न : खोसिएका बन्दुक र भागेका कैदीको जिम्मा कसले लिन्छ र चुनाव हुन्छ ? 


काठमाडौ, मंसिर २ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले नयाँ पुस्तालाई पार्टीमा कसरी जोड्ने र टिकाउने भन्ने कुरा सोच्नु पर्ने बेला आएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल अर्घाखाँचीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै झाँक्रीले अहिलेको प्रविधि र सिप सिकेको युवालाई पार्टीमा उचित स्थान दिएर परिचालन गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले हिजो पनि युवाकै जगमा उभिएको पार्टी भएको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘हिजो हाइस्कुलको ड्रेसमा गएर पार्टी बनाएको हो नि त, जब ती हुटहुटी भएका मानिसलाई पार्टीमा भर्ती गरिँदैन यो स्थिति त अनिवार्य छ नि, अब तिनीहरूलाई ल्याउने हो, त्यो एमालेले नै ल्याउने हो’, उहाँले भन्नुभयो ।

कात्तिक २९ गतेको प्रदर्शन मार्फत एमालेले देशै भरि आफ्नो शक्ति देखाएको उहाँले बताउनुभयो । ‘२९ गते सामान्य हिसाबले भन्दा पनि ७७ जिल्लाबाट ५ लाख मानिस निस्किए, त्यो परिवारमा ४ जना छन् भने त्यो २० लाख मान्छेको शक्ति हो’, उहाँले भन्नुभयो ।

अहिले निर्वाचन गर्ने स्थिति नभएको उहाँले बताउनुभयो । हतियार र कैदीहरू बाहिर रहेको अवस्थामा चुनाव हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । ‘खोसिएका बन्दुक, भागेका कैदी, तिनको जिम्मा कसले लिन्छ ? ती सबैलाई थाती राखेर चुनाव गर्ने भन्ने हो भने हामीले के स्टेटमेन्ट दिने हो हामी गरौँला’, उहाँले भन्नुभयो ।

आफू विगतको संसद् पुनर्स्थापनाको रिट निवेदक भएको स्मरण गराउँदै उहाँले स्थायित्वको लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनु पर्ने बताउनुभयो । आफू यही एजेण्डा बोकेको कारण हिजो एमाले छाड्नु पर्ने स्थितिमा सम्म पुगेको उहाँले सुनाउनुभयो ।

अहिले भदौ २३ र २४ को घटनाको छानबिन गर्ने आयोगले प्रतिशोधपूर्ण व्यवहार सुरु गरेको बताउनुभयो । राजनीतिक दलका नेताहरूलाई निर्वाचनमा भाग लिनै नदिने गरी आयोग र सकार लागेको उहाँले बताउनुभयो ।

नेपालको संविधान ध्वस्त गर्ने, अखण्ड र अक्ष्युण नेपालको इतिहास ध्वस्त गर्ने मानिसहरूको डिजाइन अनुसार भदौ २३ र २४ को घटना भएको उहाँले बताउनुभयो । त्यसैले प्रतिनिधि सभा पुनर्स्थापना हुनु पर्ने र त्यो अदालतले गर्ने उहाँले दाबी गर्नुभयो ।

यो पार्टीको मात्र विषय नभएर नेपाली नागरिक र देशको विषय भएको उहाँले बताउनुभयो । एमाले त्यही मुद्दा बोकेर एमाले हिँडेको उहाँको भनाइ छ ।