जनता टाइम्स

३ मंसिर २०८२, बुधबार ११:३३

बालेन र कुलमानले ढाँटेको भन्दै स्थानीले लगाए काठमाडौँको फोहोर विसर्जनमा रोक 


काठमाडौं, मंसिर ३ । बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा पुनः तनाव सिर्जना भएको छ। काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य पालिकाबाट दैनिक रूपमा लैजाने फोहोर विसर्जनमा स्थानीयवासीले अवरोध  गरेका छन् ।

फोहोर विसर्जनका क्रममा बञ्चरेडाँडामा पुगेका करिब २५० टिपर स्थानीयले रोकेपछि आज काठमाडौँसहित उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको छ।

उपत्यकाभित्र दैनिक करिब १४ सय टन फोहोर बन्छ। काठमाडौँ महानगरपालिकाबाट मात्र झन्डै ७ सय टन फोहोर बञ्चरेडाँडा लगिन्छ भने बाँकी ललितपुर महानगर, कीर्तिपुर नगरपालिका, टोखा, चन्द्रागिरि, भक्तपुर तथा अन्य पालिकाबाट पनि करिब ७ सय टन फोहोर पुर्‍याइन्छ। तर स्थानीयको अवरोधका कारण फोहोर सङ्कलनका अधिकांश गाडी बेस लाइनमै रोकिएका छन्।

बञ्चरेडाँडाका स्थानीयले लामो समयदेखि उठाउँदै आएका माग कार्यान्वयन नभएको र ‘बालेन र कुलमानले वाचा पूरा गरेनन्’ भन्दै फोहोरका गाडी रोकिएको हो। स्थानीयवासीले स्वतःस्फूर्त रूपमा सडक अवरुद्ध गरेपछि फोहोर ढुवानी रोकिएको र गाडीलाई प्रवेश अनुमति नदिएको जनाइएको छ। यस अघि अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले स्थानीयको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएपछि पोहोर विसर्जनको काम सुरु भएको थियो ।

स्थानीयवासीको अनुसार बञ्चरेडाँडालाई वैज्ञानिक रूपमा व्यवस्थित गर्ने, पीडित बस्तीलाई राहत दिने, स्वास्थ्य सेवा उपलब्ध गराउने, सडक सुधार गर्ने, फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने लगायतका माग विगतका विभिन्न बैठक र सहमतिमा राखिए पनि पालना भएको छैन। फोहोर थुप्रिँदा दुर्गन्ध, धुलो–धुवाँ, लेदो पानी बगेर बस्तीमा फैलिने समस्या, सङ्क्रमणसँगै जनस्वास्थ्यमा परेको असरबारे पटक–पटक सरोकार निकायलाई जानकारी गराए पनि समाधान नआएको स्थानीयवासीको गुनासो छ।

गत वर्ष काठमाडौँ महानगरका मेयर बालेन शाह र  मन्त्री कुलमान घिसिङले ‘स्थानीय समस्या तत्काल समाधान गर्दै लैजाने’ आश्वासन दिनुभएको थियो।  तर काम नभएपछि स्थानीयवासी अवरोधमा उत्रिएका हुन् ।

फोहोर विसर्जन ठप्प भएपछि उपत्यकाभित्र विभिन्न वडाहरूमा आज बिहानदेखि फोहोर सङ्कलन रोकिएको छ। सडक बत्तीमुनि, बजार क्षेत्र, अस्पताल नजिकका ठाउँ, बसपार्क तथा सहरी चोकहरूमा बिहानैदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिने तथा प्रदूषण बढ्ने चिन्ता सार्वजनिक रूपमा व्यक्त हुन थालेको छ। विगतमा बञ्चरेडाँडा अवरुद्ध हुँदा काठमाडौँमा फोहोर थुप्रिएर जनस्वास्थ्यसम्बन्धी जोखिम बढेको स्मरण गर्दै विज्ञहरूले तत्काल  समस्या समाधान गर्न सुझाव दिएका छन् ।

बञ्चरेडाँडा क्षेत्र २०७५ सालदेखि फोहोर विसर्जनका लागि प्रयोग हुँदै आएको हो। तर त्यति बेलादेखि स्थानीयवासीले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) मा उल्लेख गरिएका धेरै प्रावधान कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन्। फोहोर प्रशोधन प्रणाली निर्माण नहुनु, व्यवस्थापनमा वैज्ञानिक विधि नअपनाउनु, सडक स्तरोन्नति र निर्माणमा ढिलाइ हुनु, धुलो–धुवाँ नियन्त्रण नहुनु, र दीर्घकालीन राहत कार्यक्रम ठप्प रहनु  जस्ता समस्या दोहोरिने प्रमुख कारण रहेको स्थानीयहरूको भनाइ छ।