जनता टाइम्स

३ मंसिर २०८२, बुधबार १५:३१

सरकारलाई केपी ओलीको प्रश्न : दुर्गा प्रसाईँले देखाएको भिडियोको जवाफ छ ? प्रसाईँलाई थुनेर आफ्नो अपराध लुक्छ ?  


काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुर्गा प्रसाईँलाई आफ्ना अपराध लुकाउन पक्राउ गरेको बताउनुभएको छ ।

बुधबार नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा च्यासलमा भएको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगले समेत बोलेकै आधारमा प्रसाईँलाई समाउनु मानव अधिकारको उल्लङ्घन हो भनिसकेको अवस्थामा सरकारले उहाँलाई थुनिराख्न नमिल्ने ओलीले बताउनुभयो ।

दुर्गा प्रसाईँले दिउँसो भिडियो सार्वजनिक गरेकामा राति सुतिरहेको बेला समातेको बताउँदै उहाँले दुर्गाप्रसाईँले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन ? भन्दै प्रश्न गर्नुभयो । प्रश्नको जवाफ थुनेर नहुने उहाँले बताउनुभयो ।

‘गिरफ्तार गरेर, मुख बन्द गरेर समस्या समाधान हुँदैन, म सरकारलाई भन्छु–दुर्गा प्रसाईँलाई तुरुन्त छाड्नुस्, बोलेको भरमा थुन्न पाइन्छ ?’, ओलीले प्रश्न गर्नुभयो ।