जनता टाइम्स

३ मंसिर २०८२, बुधबार १६:२३

नेतालाई जनतामाझ जान अवरोध भयो भने चुनाव असम्भव : डा. भीमार्जुन आचार्य


काठमाडौं, मंसिर ३ । संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई सभा–समारोह र जनतामाझ जान नै रोक लगाइने अवस्था सिर्जना भए आसन्न निर्वाचन नै प्रश्नचिन्हमा पर्ने चेतावनी दिनुभएको छ। बाराको सिमरामा नेकपा एमालेका शीर्ष नेताहरूको भ्रमण अवरुद्ध गरिएकै प्रति आचार्यले यस्तो टिप्पणी गर्नुभएकाे हाे । 

सिमरा विमानस्थलमा ‘जेनजी’ को नाममा गरिएको अवरोधपछि २१ फागुनमा हुने भनिएको चुनावको सुनिश्चितताप्रति आफू शङ्कित रहेको बताउँदै उहाँले संविधानले प्रदान गरेको राजनीतिक गतिविधिको अधिकार कुण्ठित हुने काम अस्वीकार्य रहेको स्पष्ट पार्नुभएको छ। ‘नेताहरूलाई आफ्ना सभा, सम्मेलनमा जान रोक लगाइने, आफ्ना कार्यकर्ता वा जनतामाझ जान अवरोध पुर्‍याइने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ?’ आचार्यले प्रश्न उठाउनुभएको छ।

उहाँले आन्दोलनकारी वा असन्तुष्ट समूहहरू जति नै सक्रिय भए पनि जिम्मेवारी र संयमको मापदण्ड झनै कडाइका साथ पालना हुनुपर्नेमा जोड दिनुभयो। ‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनु पर्ने होइन र ?’ उहाँले प्रश्न गर्दै ‘जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्छ’ भन्नुभएको छ।

आचार्यले यस्ता अवरोधमूलक क्रियाकलापले राजनीतिक अविश्वास बढाउने, चुनावी वातावरण थप बिगार्ने र समग्र लोकतान्त्रिक प्रक्रियामा नै प्रतिकूल असर पार्ने उल्लेख गर्दै सबै पक्षलाई संयमित, जिम्मेवार र कानुनी मार्गबाट अघि बढ्न आग्रह गर्नुभएको छ।