जनता टाइम्स

५ मंसिर २०८२, शुक्रबार १५:०६

एमालेका नेतालाई बयानमा बोलाएमा एक लाख कार्यकर्ता सिंहदरबार पस्नेछन् : महेश बस्नेत


काठमाडौं, मंसीर ५ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरुलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने बताउनुभएको छ ।

नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिंजाएको भन्दै उहाँले त्यसो भएमा आज भेला भएका भन्दा पाँच दोब्बर मानिस सिंहदरबार प्रवेश गर्ने उहाँले चेतावनी दिनुभयो ।

भदौ २४ गतेको अराजक जत्थाजस्तो एनभिएफले तोडफोड र आगजनी नगर्ने उहाँले बताउनुभयो । ‘हामी भदौ २४ गतेका अराजकहरूजस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौ, ’ बस्नेतले भन्नुभयो ‘बरु फूलमाला लगाएर सुशीला कार्की मन्त्रीहरुलाई सिंहदरबाट बिदाइ गर्नेछौं ।’

नेता बस्नेतले १ लाख जनताको उपस्थितीमा सिंहदरबार भित्रै आफूहरुले आमसभा आयोजना गर्ने पनि बताउनुभएको छ । नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतंकित पारिरहेकोमा उहाँले अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा भएकोले आफूतिर आउन सक्ने आरोपलाई अन्त पन्साएको उहाँले बताउनुभयो ।

‘अहिलेको सरकारका प्रधानमन्त्री,मन्त्री र सरकार सम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्’ बस्नेतले भन्नुभयो ‘नेपो बेबीका ड्याड मम्स्ले शासन चलाएका छन् । यो जायज छैन ।’
एनभिएफको घोषणा कार्यक्रम अहिले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा बबरमहलमा भइरहेको छ । पार्टीको नीति,नेतृत्व,प्राकृतिका प्रकोपमा राहात तथा उद्धारका लागि यो फोर्स परिचालन हुने बस्नेतले बताउनुभयो ।