काठमाडौं, मंसिर ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउनुभएकाे छ ।
नेकपा एमाले वाग्मती प्रदेशक कमिटीले शनिबार काठमाडौंमा आयाेजना गरेको वृहत प्रदर्शन तथा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले । यस अप्ठ्यारो अवस्थालाई फेरि सहज अवस्थामा फर्काउन नेकपा एमाले प्रतिबद्ध रहेकाे बताउनुभयाे । त्यही प्रतिबद्धता र सङ्कल्प जनाउन एमालेले र्याली र सभाको माध्यमबाट आफ्नो अभियान प्रारम्भ गरेको ओलीले बताउनुभयाे ।
‘हामी भन्न चाहन्छौँ–नेकपा एमाले चुनाव लड्न, सरकारमा पुग्न, सांसद हुन, मन्त्री हुन, प्रधानमन्त्री हुनका लागि बनाइएको पार्टी होइन, यो पार्टी यस देशको सार्वभौमसत्ताको, स्वाधीनता र स्वतन्त्रताको, यस देशको भौगोलिक अखण्डताको, यस देशका जायज हितहरूको र यस देशको स्वाभिमानको रक्षाका लागि बनेको पार्टी हो, यो पार्टी देशमा शान्ति सुव्यवस्था कायम भएको, लोकतान्त्रिक प्रणाली स्थापना, त्यसको प्रयोग र विकासका लागि बनेको पार्टी हो, देशमा सुशासन, भ्रष्टाचारको अन्त्य र जनतालाई सहज ढङ्गले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सुशासनयुक्त समाज, शान्तिपूर्ण समाज निर्माणका लागि बनेको पार्टी हो, यो सुशासन र विकासको माध्यमबाट देशलाई समृद्ध नेपाल र सुखी नेपालीको अवस्थामा पुर्याउने सङ्कल्पका साथ अगाडि बढिरहेको पार्टी हो’, उहाँले भन्नुभयाे ।
ओलीले देशमा एमाले म भन्ने कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयाे । ‘यस देशमा नेकपा एमाले छ, सबैले बुझ्नु पर्दछ, यी उद्देश्यहरू बोकेको, यी उद्देश्यहरू कहिल्यै पनि नफ्याँकने, महान् उद्देश्यहरूको, राष्ट्रिय उद्देश्यहरूको झण्डा अझमाथि उठाउँदै जाने पार्टी नेकपा एमाले यस देशमा छ, तसर्थ, कसैले कुनै हिसाबले, कुनै तरिकाले, अवैध र असंवैधानिक ढङ्गले, अलोकतान्त्रिक ढङ्गले, असामाजिक ढङ्गले यस देशमा कुनै गडबडी मच्चाएर एकछिनका लागि सत्ता कब्जा गरिहाल्यो भने पनि, सरकार कब्जा गरिहाल्यो भने पनि हामी त्यस अवस्थालाई फेरि लोकतान्त्रिक प्रणालीमा फर्काएर छाड्छौँ फेरि संवैधानिक बाटोमा फर्काएर छोड्दछौँ, मिचिएको संविधानलाई नमिचिने स्थितिमा फेरि फर्काएर छोड्छौँ, मिचिएको र अस्वीकार गरिएको लोकतन्त्रलाई फेरि फर्काएर ल्याउँछौँ’, ओलीले भन्नुभयाे ।
अराजकताको राज धेरै लामो समय नजाने उहाँले बताउनुभयाे । ‘नेकपा एमालेले अराजकताको राज छिट्टै अन्त्य गर्दछ, नेकपा एमाले नेपाली जनताको पार्टी हो, जनताको साथमा छ, जनतालाई नेतृत्व गर्छ, जनताको अगाडि लागेर यसले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई अगाडि बढाउँछ, देशमा शान्ति कायम गर्छ’, उहाँले भन्नुभयाे ।
अहिले देशमा संविधानअनुसार नबनेको सरकार रहेकाे उहाँले बताउनुभयाे । ‘संविधान मिचेर बनाएको सरकार छ, लोकतान्त्रिक विधि र लोकतान्त्रिक प्रक्रियाबाट नबनेको सरकार छ, त्यस लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गरेको सरकार छ, यस सरकार अवैधानिक, असंवैधानिक र कृत्रिम ढङ्गले लोकतन्त्रका विरुद्ध निर्माण गरिएको हो, हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट बनाइएको सरकार भनेर सबै नेपाली जनतालाई थाहा छ, यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनै पर्दछ, संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठहर्याउनै सक्दैन, ‘कोर्ट’ले यसलाई उचित ठहर्याउने ठाउँ नै छैन, यो अनुचित, असंवैधानिक र अलोकतान्त्रिक सरकार हो, यसको उत्पत्ति नै गलत बाटोबाट र असंवैधानिक बाटोबाट भएको छ, त्यसकारण हामी यी सबै राष्ट्रिय समस्याको समाधान सही ढङ्गले होस् भन्ने कुरा चाहन्छौँ र हुनेछ’, ओलीले भन्नुभयाे ।
यस कामको अगुवाइ र यस कामको नेतृत्व अब नेकपा एमालेले गर्ने उहाँले बताउनुभयाे । ‘नेकपा एमालेले यस कामको नेतृत्व गर्नेछ, जेनजी भन्ने एउटा ‘आर्टिफिसियल’ शब्द अगाडि सारियो, दुनियाँका विभिन्न देशमा र भागमा जेनजी नामको अश्वfभाविक एउटा शब्द निकालिएको छ, कम्प्युटरको विकासको चरणलाई मानिसको पुस्तासँग जोडेर जेनजी पुस्ता भन्ने गरेको छ, यो आफैँमा कृत्रिम र अयथार्थ कुरा हो, यसरी जेनजीका नाममा युवाहरूलाई दिग्भ्रमित पार्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो’, उहाँले भन्नुभयाे ।














प्रतिक्रिया दिनुहोस्