जनता टाइम्स

६ मंसिर २०८२, शनिबार २०:५८

जेनजीको नेता भएको दाबी गर्दै सुदन गुरुङले फैलाएका‍े आतङ्क तत्काल रोकियोस् :  किसान श्रेष्ठ


काठमाडौं, मंसिर ६ । नेकपा एमालेका नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले सिमरामा मंसिर ३ र ४ गते भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले घाइतेहरूको उपचारका लागि आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग समेत गर्नुभएको छ।

पार्टी कामको सिलसिलामा काठमाडौं रहेका बेला आफ्नो निवासमा आक्रमण समान घटना भएको बताउँदै श्रेष्ठले जेन जी समूहको नाममा भइरहेको गतिविधि ‘आतङ्क फैलाउने प्रवृत्ति’ भएको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार मंसिर ६ गते जितपुर सिमरा–४, औराहास्थित आफ्नै घरमा ‘जेनजीको नेता’ भएको दाबी गर्दै सुदन गुरुङ नामका व्यक्ति प्रवेश गरेका थिए। श्रेष्ठको दाबी अनुसार उक्त व्यक्तिले २४ गते जलाइएका घर पुनर्निर्माण गरिरहेका उहाँका कामदारलाई धम्क्याउने, घर पुनः जलाइदिने चेतावनी दिने तथा ‘तेरो नेताको जे पनि हुन सक्छ’ भन्दै धम्की दिएको थियो।

श्रेष्ठले यस्ता गतिविधिले आम नागरिकमा त्रास सिर्जना गरेको र राज्यको शान्ति–सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘जेन जीका नाममा फैलिएको आतङ्क रोकिनुपर्छ। शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार र स्थानीय सरकार दुवैले तत्काल ध्यान दिनु आवश्यक छ।’

सिमरामा हालै भएका घटनापछि सुरक्षा चुनौती बढिरहेको उल्लेख गर्दै श्रेष्ठले आक्रमण, धम्की र आतङ्क फैलाउने प्रवृत्तिमाथि कडा कारबाही हुनुपर्ने माग पनि अघि सार्नुभएको छ।