जनता टाइम्स

७ मंसिर २०८२, आईतवार १३:०९

महेश बस्नेत सवार गाडीमा मसी छ्याप्ने कांग्रेस निकट विद्यार्थी


मोरङ,  मंसिर  ७। मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थी रहेको खुलेको छ ।आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका थिए ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो । लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।पक्राउ परेका गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् । उनी संस्थापनइतर समूहका हुन् ।

गौतमलाई डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी संघ इकाइ सभापति पनि बनाएको थियो ।नेविस‌घ महेन्द्र मोरङमा संस्थापन समूहको सभापति भने प्रशान्त यादव छन् । अर्पित कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरी स्रोतले बताएको छ ।

यता नेता बस्नेतले भने कार्यक्रममा जान अवरोध पुर्‍याउन खोजिएको भन्दै यसलाई ‘लोकतन्त्रमाथिको उपहास’ भन्नुभएको छ । बस्नेत सुनसरीको इटहरीमा आएपछि जेनजीहरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।