जनता टाइम्स

७ मंसिर २०८२, आईतवार १५:०१

जेनजीको नाममा व्यापक घुसपैठ, सिङ्गो देश, राजनैतिक दल र नागरिक सचेत हुन आवश्यक : महेश बस्नेत 


काठमाडौं, मंसिर ७ । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा अहिले ठुलो घुसपैठ भइरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत केही उदाहरण प्रस्तुत गर्दै बस्नेतले यसबाट सचेत हुन सबैलाई आह्वान गर्नुभएको छ । अहिले जेनजीको नाममा जसले जे गरे पनि हुने जस्तो भएको भन्दै बस्नेतले यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नु भएको छ ।

उहाँले आजै विराटनगरमा आफू चढेको गाडीमा र‌ंग छ्याप्नेदेखि एमाले नेता किसान श्रेष्ठको घरमा धम्क्याउन पुग्नेसम्म सबै जेनजीको नामा घुसपैठ भएको उल्लेख गर्नुभएको छ । ‘विराटनगरमा ममाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पसका इकाई सभापति सन्जोग गौतम र सदस्य अर्पित कुँवर हुन् भनेर कांग्रेसकै साथीहरूले बताए, त्यस्तै आरअर , कलेजमा कालो ज्याकेट देखाउने काभ्रेका नेकपा एसका बेथानचोक वडाका अध्यक्ष रहेछन्, बारा सिमरामा सरकारी कार्यालयदेखि निजी घरमा आगजनी गर्ने सम्राट उपाध्याय, पूर्वमन्त्री किसान श्रेष्ठको घरमा धक्का–मुक्का र लुटपाट गर्न पुगेका सुदन गुरुङसहितको टोली माओवादी र टिबटियन ओर्जिनल ब्लडका व्यक्तिहरू हुन्’, बस्नेतले लेख्नु भएको छ ।

यी व्यक्तिहरू कुन जेनेरेशन–जेडमा पर्छन् ? भन्दै बस्नेतले प्रश्न गर्नु भएको छ ।  ‘जेनेरेशन–जेडको नाममा व्यापक घुसपैठ भएको तथ्य स्पष्ट छ, सिङ्गो देश राजनैतिक दल र नागरिक सचेत हुन आवश्यक छ’, उहाँले लेख्नु भएको छ ।