जनता टाइम्स

१२ मंसिर २०७६, बिहीबार ०८:५३

काठमाडौंमा चिसो बढ्यो, यस्तो छ आजको तापक्रम


काठमाडौं, मंसिर १२

काठमाण्डौ उपत्यकामा बिहीबार झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ । तापक्रम घटेसँगै चिसो बढ्न थालेको छ । बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको बिहीबार बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको असरले मौसम पूर्ण रुपमा नखुल्दा देशका धेरै ठाउँको न्यूनतम तापक्रम घटेको हो । पश्चिमी वायुको प्रभावले बिहीबार दिउँसो मध्य र पूर्वको पहाडीसहित पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाको पूर्वानुमान छ ।

बिहीबार पश्चिमी पहाडी क्षेत्रको केही ठाउँमा पानी पर्नुकासाथै हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मध्य र पूर्वी तराई क्षेत्रमा भने घाम लाग्नेछ ।’ अहिले चिसो बढाएको पश्चिमी वायुको प्रभाव शनिबारदेखि भने कम हुने उहाँले जानकारी दिनुभयो ।