जनता टाइम्स

८ मंसिर २०८२, सोमबार १२:५४

अछामतिर ज्वाईं आतंक : मदिरामा लट्ठिएर कर्मचारीलाई आमाचकारी र ज्यान मार्ने धम्की


अछाम, मंसीर ८ । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा नेपाली काँग्रेसका शीर्ष पदाधिकारी तथा जनप्रतिनिधिककै आडमा दादागिरी र असामान्य व्यवहार खुलेआम बढिरहेको आरोप झन् बलियो बनेको छ ।

आइतबार साँझ नेपाली काँग्रेस बान्नीगढी गाउँ पालिका कार्यसमितिका सचिव समेत रहेका गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदका ज्वाई खेमराज साउँदले मदिराले लट्ठ भई कर्मचारीलाई आमाचकारी र ज्यान मार्ने धम्की दिँदै ताण्डव मच्चाएपछि स्थानीय प्रशासनिक वातावरण झनै त्रासपूर्ण बनेको छ ।

गाउँपालिका नजिकको क्यान्टिनमा खाना खाइरहेका लेखा अधिकृत अर्जुन जोशी र निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीलाई साउँदले आमाचकारी गर्दै रोडमै पछारेर ज्यान लिने धम्की दिनुभएको स्थानीय प्रत्यक्षदर्सीले बताएका छन ।

सुरक्षित रूपमा खाना खान नपाउने अवस्था सिर्जना भएको भन्दै गाउँपालिकाका कर्मचारीहरू आक्रोशित बनेका छन । आफुमाथि गाली गलौज भएको बताउदै सूचना अधिकारी समेत रहेका लेखा अधिकृत अर्जुन जोशीले कानुनी उपचारका बिषयमा परामर्शमा रहेको बताउनु भयो ।

नेपाली काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदको आड र मौन समर्थनका कारण उहाँका आसेपासे केही नेता–कार्यकर्ता ‘अस्वभाविक’, ‘दादागिरीपूर्ण’ र ‘मदिरामा मातेर हुलहुज्जत गर्ने’ प्रवृत्ति बढ्दै गएको आरोप लाग्दै आएको छ । सातादिन अघिमात्रै गाउँपालिका अध्यक्ष साउँद स्वयंले सोही क्यान्टिनमा मदिरा सेवन गरेर कर्मचारीमाथि आमा–चकारी गर्दै दुव्र्यवहार गर्नुभएको थियो ।

गाउँपलाका अध्यक्ष र गाउँपालिका अध्यक्षकै पार्टीका पालिका सचिव दुवैले एक हप्ताको अन्तरालमै क्यान्टिनमै उग्र शैली देखाएको घटनाले गाउँपालिकामा राजनीतिक संरक्षण, दादागिरी र दण्डहीनताको वातावरण गहिरिँदै गएको गुनासो चुलिएको छ । घटनापछि कर्मचारीहरूले अहिले कानुनी उपचारबारे छलफल गरिरहेका छन ।