जनता टाइम्स

८ मंसिर २०८२, सोमबार २०:४८

अवैध डिम्ब प्रकरण : अनेरास्ववियुद्वारा महान्यायाधिवक्ता सविता भण्डारीको तत्काल राजीनामाको माग


काठमाडौं, मंसिर ८ । अनेरास्ववियुले महान्यायाधिवक्ता सविता भण्डारीको समेत लगानी रहेको भनिएको अस्पतालसम्बन्धी अवैध डिम्ब प्रकरणमा मुद्दा नचलाउने निर्णयबारे विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रतिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनले आफू सधैँ राष्ट्र, राष्ट्रियता, मानव अधिकार र न्यायको पक्षमा रहँदै आएको विद्यार्थी संगठन भएको स्पष्ट गर्दै सार्वजनिक भएका रिपोर्टहरू अत्यन्त गम्भीर प्रकृतिका रहेको उल्लेख गरेको छ। सञ्चारमाध्यममा आएको खबरअनुसार महान्यायाधिवक्ता भण्डारीको समेत लगानी रहेको भनिएको होप फर्टिलिटी सेन्टरमा डिम्ब दानको नाममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक प्रलोभन देखाइ गरिएको क्रियाकलापले संविधानको धारा ३८ र ३९ तथा बालबालिका सम्बन्धी ऐन २०७५ को गम्भीर उल्लङ्घन हुने अनेरास्ववियुका अध्यक्ष दीपक धामीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। अनेरास्ववियुले यस्ता आपराधिक गतिविधिलाई शक्ति वा पदको आडमा उन्मुक्ति दिन खोजिनु अस्वीकार्य भएको स्पष्ट पारेको छ।

संगठनका अनुसार होप फर्टिलिटी सेन्टरले पटक–पटक कानुनको धज्जी उडाउँदा पनि आवश्यक कारबाही प्रक्रिया अघि नबढ्नु र उल्टै मुद्दा नचलाउने निर्णय हुनु, जनताले नचिन्ने असंवैधानिक सरकार तथा त्यसमा आबद्ध व्यक्तिहरूको जनताप्रति अनुत्तरदायी चरित्र स्पष्ट देखिने घटना भएको छ। नागरिकको संवैधानिक हक तथा मानव अधिकारमाथि प्रत्यक्ष प्रहार हुने खालको निर्णय गरिएको भन्दै अनेरास्ववियुले महान्यायाधिवक्ता भण्डारीको तत्काल राजीनामाको माग गरेको छ।

आर्थिक प्रलोभन देखाइ विद्यार्थीहरूलाई आपराधिक गतिविधिमा संलग्न गराउने जो–कोहीलाई कानुनको कठघरामा उभ्याई पीडितहरूलाई न्याय दिलाउनुपर्ने विषयमा सम्बन्धित निकायहरू गम्भीर हुनुपर्ने अनेरास्ववियुको माग छ। संगठनले यस मुद्दालाई कमजोर पार्ने वा प्रभाव घटाउने कुनै पनि दुष्प्रयास भए उचित कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ।