जनता टाइम्स

८ मंसिर २०८२, सोमबार २२:५६

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रश्न : विपदमा नभेटिएको सरकार कहिले भेटिन्छ 


काठमाडौं, मंसिर ८ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाममा भएको विपद्को संवेदनशील अवस्थामा सरकारको उपस्थिति प्रभावकारी ढंगले नदेखिएको भन्दै गम्भीर प्रश्न उठाउनुभएको छ।

सोमबार इलाम पुगेर उहाँले बाढी–पहिरोबाट प्रभावित नागरिकले ‘सरकार छ’ भन्ने अनुभूति तुरुन्त पाउनुपर्नेमा जोड दिनुभयो। महमन्त्री शर्माले सरकार कुनै व्यक्तिको उपस्थिति वा अभिव्यक्तिमा सीमित नहुने उल्लेख गर्दै राज्यका संयन्त्रलाई सक्रिय भएर उद्धार, राहत र पुनःस्थापना कार्यलाई तीव्र बनाउन आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘सरकार भनेको व्यक्ति होइन, संस्था हो, त्यसैले प्रधानमन्त्रीज्यूले अविलम्ब पहल गर्नुभएको खण्डमा इलामका प्रत्येक बाढी–पहिरो पीडितले राहत, उद्धार र पुनःस्थापनाको काममा गति अनुभव गर्लान्, यसमा हामी सबै ऐक्यबद्ध छौँ, तर केन्द्रीय सरकारको भूमिकालाई खोज्न आवश्यक छ।’

इलामको विभिन्न प्रभावित क्षेत्रको अवलोकन गर्दै उहाँले यो संवेदनशील घडीमा केन्द्रीय सरकारले नागरिकलाई भरोसा दिलाउनुपर्नेमा विशेष ध्यानाकर्षण गराउनुभयो। उहाँले थप भन्नुभयो, ‘इलाम आएर म केन्द्रीय सरकार खोजिरहेको छु, इलामको विपदमा नभेटिएको सरकार भेटिने कहिले हो ?’

महमन्त्री शर्माले राजनीतिक नेतृत्व जुन पक्षको भए पनि संकटको समयमा सरकार नागरिकको साथमा छ भन्ने अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिनुभयो।