जनता टाइम्स

९ मंसिर २०८२, मंगलवार ०९:३४

महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको पाँच बुँदे निर्देशन


काठमाडौं, मंसिर ९। नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि देशभर महाधिवेशन प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहेका बेला पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ।

पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठक बसेर सम्बन्धित विषयहरूमा निर्णय गर्दै पाँच बुँदे निर्देशन सार्वजनिक गरिएको हो। उहाँका अनुसार प्रतिनिधि चयन प्रक्रियामा प्रवेश गर्नु अघि सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने निर्देशन दिइएको छ। यसका लागि केन्द्रीय कमिटीले जारी गरेको पछिल्लो परिपत्रलाई आधार बनाउन भनिएको छ। साथै कायम भएको अन्तिम मतदाता सूचीको संख्या तुरुन्तै केन्द्रीय संगठन विभागलाई जानकारी गराउन पनि निर्देशन गरिएको छ।

महाधिवेशन प्रतिनिधि छनौटमा मंसिर १२ गते साँझसम्म सर्वसम्मतिमा पुग्न अन्तिम प्रयास गर्ने र सो सम्भव नभए मंसिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि चयन गर्ने व्यवस्था मिलाउन विभागले स्पष्ट निर्देशन दिएको छ। विभागले १३ गते एकैदिन प्रतिनिधि छनोट गर्नुपर्ने भएकाले ‘कुनै पनि बहानामा प्रक्रिया नलम्ब्याउन’ पनि सम्बन्धित समिति र नेताहरूलाई सचेत गराएको छ।

केही जिल्लामा महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दर्ता शुल्क अत्यधिक निर्धारण गरिएको जानकारी आएपछि संगठन विभागले त्यसमा हस्तक्षेप गर्दै उम्मेदवारी शुल्क अधिकतम १ हजार रुपैयाँभन्दा बढी नलिन निर्देशन जारी गरेको छ। प्रतिनिधि छनौटका लागि प्रदेश तथा निर्वाचन क्षेत्रमा खटिएका नेताहरूलाई तोकिएको समयमै कार्यक्षेत्रमा पुगेर प्रक्रिया सहज बनाउन पनि विभागले निर्देशन दिएको अधिकारीले जानकारी दिनुभयो।

नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने तय भएको छ। सो महाधिवेशनका लागि मंसिर १३ गते देशभर तथा प्रवासमा एकैदिन प्रतिनिधि छनौट हुँदैछ। यस महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने संगठन विभागले जनाएको छ।