जनता टाइम्स

१० मंसिर २०८२, बुधबार २०:३९

प्रहरीले लखेटेपछि जेनजी अभियन्ता मिराज ढुङ्गानाले मागे प्रधानमन्त्री सुशीला कार्कीकाे राजीनामा 


काठमाडौं, मंसिर १०। आफूलाई जेनजी अभियन्ता बताउने मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाहरूको आवाज सुन्न नचाहेको आरोप लगाउनुभएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिकै गरिएको प्रदर्शनका क्रममा प्रहरीद्वारा लखेटिएपछि उहाँले जेनजी पुस्ताले देशमा स्थिरता र सुशासनका लागि उठाएको मागलाई प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

ढुङ्गानाले भन्नुभयो, ‘देश स्थिर होस्, सुशासन कायम होस् भन्ने हाम्रो मागप्रति प्रधानमन्त्री सुशीला कार्कीले ध्यान दिन चाहनु भएन, उहाँलाई चुनाव कुनै अनिवार्य प्रक्रिया जस्तो लागेको देखिन्छ, तर हाम्रो माग भनेको अर्थपूर्ण चुनाव तब मात्र सम्भव छ जब संविधान संशोधनमार्फत हाम्रो गुनासा सम्बोधन हुन्छन्, यदि त्यो भएन भने पुनः यस्तै परिस्थितिहरू दोहोरिन सक्छन्।’

उहाँले प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न नसक्ने हो भने पदबाट राजीनामा दिन आग्रह पनि गर्नुभयो। ढुङ्गानाले भन्नुभयो, ‘आन्दोलनको मर्म बुझ्नुभएको छ भन्ने विश्वास छ, ७६ जनाको ज्यान गएको कुराप्रति पनि संवेदनशीलता छ भन्ने अपेक्षा छ, यदि संविधान संशोधन गर्न असमर्थ रहनुहुन्छ भने कृपया राजीनामा दिनुहोस्, त्यसपछि हामीले के गर्ने भन्ने निर्णय गर्नेछौँ।’