काठमाडौं, मंसिर ११। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी परिवारप्रति शुभकामना व्यक्त गर्दै महाधिवेशन देशको विद्यमान राजनीतिक परिस्थितिमा अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभएको छ।
विज्ञप्तिमार्फत उहाँले वर्तमान ‘विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अगाडि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ’ भन्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ। महाधिवेशन पार्टीभित्र मात्र नभई आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय रहेको उल्लेख गर्दै उहाँले नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ मार्ग निर्देशन गर्ने अवसरका रूपमा यसलाई हेर्नुपर्ने बताउनुभएको छ।
विशेष परिस्थितिका कारण निर्धारित समयभन्दा एक वर्षअघि आयोजना हुन गइरहेको महाधिवेशनका लागि प्रतिनिधि छनोटमा ‘वैचारिक तथा राजनीतिक रूपमा परिपक्व नेता–कार्यकर्ता, ऊर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित’ गर्न पार्टी पङ्क्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
दुई वर्षअघि विधानसम्मत रूपमा नवीकरण गरिएको आफ्नो पार्टी सदस्यता ‘नेतृत्वले अनुचित तरिकाले रोकेकाले’ महाधिवेशनमा भौतिक रूपमा सहभागी हुन नसक्ने उल्लेख गर्दै पनि उहाँले आफू पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले निरन्तर साथ रहने बताउनुभएको छ।
एमालेलाई उहाँले ‘सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र’ को रूपमा चित्रण गर्दै ११औँ महाधिवेशन पूर्ण रूपमा सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्