जनता टाइम्स

११ मंसिर २०८२, बिहीबार १०:१९

एमाले महाधिवेशनको रौनक : देशैभर प्रतिनिधि छनोटमा उत्साह, युवा र महिला प्रतिनिधित्व बढाउने मापदण्डले २३ सय नाघ्ने देखियो


काठमाडौं, मंसीर ११ । नेकपा एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि २३ सय नाघ्ने भएको छ । केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको प्रतिनिधि चयनको मापदण्डमा हेरफेर गरेसँगै प्रतिनिधि सङ्ख्या २३ सय नाघ्ने देखिएको हो ।

एमाले केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयन मापदण्ड हेरफेरपछि करिब २ सय ४० को हाराहारीमा बढ्ने देखिएको जनताटाइम्स डटकमलाई जानकारी दिनुभयो । संगठन विभाग प्रमुख अधिकारीका अनुसार यो सङ्ख्यामा उल्लेख्य रूपमा युवा र महिलासहित समावेशीतर्फबाट प्रतिनिधित्व बढ्ने देखिएको छ । गत मंसीर ४ गते बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड संशोधन गर्ने निर्णय गरेको थियो ।

संशोधित मापदण्डअनुसार कार्यकर्ताहरूबाट चयन भएर आउने प्रतिनिधि सङ्ख्या बढाउने निर्णय गरेको हो । यसअघि एमालेले सदस्य सङ्ख्या १२ सय सदस्यलाई आधार मानेर ४ जना प्रतिनिधि चयन गर्ने र थप ८ सय सदस्य बराबर एक जना प्रतिनिधि थप्दै लैजाने निर्णय गरेको थियो । कार्यकर्ता तहबाट सो मापदण्डको विषयमा प्रश्न उठेपछि सचिवालय बैठकले मापदण्ड संशोधन गर्दै ८ सयमा शेष सङ्ख्या ५० प्रतिशत कटे थप एक जना प्रतिनिधि हुने व्यवस्था गरेको थियो ।

यस्तै एमालेले प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीबाट पनि दुई महिला सहित ५-५ जना प्रतिनिधि थप गर्ने निर्णय गरेको थियो भने उपत्यका विशेष र सम्पर्क समन्वय अन्तर्गत एघार वटा विशेष जिल्ला कमिटीबाट पनि एक जना प्रतिनिधि ४० वर्ष मुनिका युवा चयन हुने व्यवस्था गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधि चयनको व्यवस्था युवा र महिला मैत्री रहेको जानकारी दिनुभयो । ‘महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड युवामैत्री छ । प्रवासलाई पनि विशेष जोड दिइएको छ । विगतको भन्दा महिलाको प्रतिनिधित्व बढेको छ । जुन कुरा अरू पार्टीले गर्न सकिरहेका छैनन्, त्यो काम एमालेले मापदण्ड बनाएरै गरेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

एमालेको ११ औँ महाधिवेशन यही मंसीर २७ देखि २९ गतेसम्म संघीय राजधानी काठमाडौं उपत्यकामा हुँदै छ । महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम मंसीर १३ गते सम्पन्न गर्ने मिति तोकिएको छ । जसअनुसार १३ गते प्रतिनिधि चयनका लागि देशभर उम्मेदवारी मनोनयनको काम सम्पन्न भइसकेका छन् । प्युठान, दाङसहितका केही जिल्लामा प्रतिनिधि चयनको काम सर्वसम्मत भइसकेका छन् । सर्वसम्मत हुन नसकेको जिल्लामा अव १३ गते मतदानबाट प्रतिनिधि चयन हुनेछन् ।

एमालेले प्रतिनिधि चयनका लागि मापदण्ड नै पठाएको छ । मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औँ महाधिवेशनका लागि मंसिर १३ गते देशैभरि एकै पटक प्रतिनिधि छनोट हुने कार्यतालिका छ । एमालेले जारी गरेको अपानिअनुसार महाधिवेशन प्रतिनिधि हुनका लागि केन्द्रीय संगठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरणका आधारमा गर्नुपर्ने छ । यस्तै पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी सदस्यता भूगोलमा लैजान चाहनेहरूले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नुपर्ने अपानिमा जनाइएको थियो ।

‘महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड युवामैत्री छ । प्रवासलाई पनि विशेष जोड दिइएको छ । विगतको भन्दा महिलाको प्रतिनिधित्व बढेको छ । जुन कुरा अरू पार्टीले गर्न सकिरहेका छैनन्, त्यो काम एमालेले मापदण्ड बनाएरै गरेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

अपानि अनुसार पदेन प्रतिनिधि रहेका आयोजकहरूले भने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ । कार्यकर्ताको सर्वोच्चता कायम गर्न एमालेले यस्तो व्यवस्था गरेको हो । यसै गरी जनसंगठनमा रहन चाहने पार्टी सदस्यलाई आफ्नो नाम भूगोल वा विशेष कमिटीबाट अलग गर्नुपर्ने प्रावधान राखिएको छ।

महाधिवेशनमा केन्द्रीय सदस्य,केन्द्रीय निकाय,भूगोल र विभिन्न क्लस्टर र मनोनीत सहित २३ हजार ४० जनाको हाराहारीमा प्रतिनिधि महाधिवेशनमा सहभागी हुने आङ्कलन छ । छनोट भएका प्रतिनिधिले फोटो सहित संगठन विभागले पठाएको ढाँचामा विवरण भरेर केन्द्रीय कार्यालयमा पठाउनु पर्ने अपानिमा उल्लेख गरिएको छ।

संगठन विभाग प्रमुख अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ । यसै गरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ ।

यस्तै १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनोटलाई सार्न पाइने छैन ।

संगठन विभागका सचिव माधव ढुङ्गेलले सचिवालय बैठकले मापदण्ड हेरफेर गरेपछि प्रतिनिधिमा महिला, दलित र युवाको सहभागिता बढ्ने जनताटाइम्स डटकमलाई जानकारी दिनुभयो । ‘शेष सदस्य सङ्ख्यामा महिलालाई प्राथमिकता दिइएको छ । जसले महिला प्रतिनिधि सङ्ख्या बढाउने नीति लिइएको प्रष्ट भएको छ,’ ढुङ्गेलले भन्नुभयो ।