जनता टाइम्स

११ मंसिर २०८२, बिहीबार २२:०३

सामाजिक सुरक्षा कार्यक्रम भविष्यको आधार : शंकर पोखरेल 


ललितपुर, म‌ंसिर ११ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सुरक्षा कार्यक्रमलाई दीर्घ भविष्यकाे आधारका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभएको छ।

आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा बिहीबार ज्यापू महागुथीको हल, च्यासलमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा : वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बाेल्दै पाेखरेलले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले भविष्यका लागि बचत–सञ्चयका नाममा देखिने विभिन्न विकृति र विचलन हटाउन मद्दत गर्ने बताउनुभयो। यसले भ्रष्टाचार राेक्न समेत सहयाेग गर्ने उहाँकाे धारणा छ ।

उहाँले नेपालको सामाजिक सुरक्षाको प्रारम्भिक अवधारणा एमाले नेतृत्वमै विकसित भएको स्मरण गर्दै भन्नुभयो, ‘पहिलो पटक मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्ध भत्ताको कार्यक्रम सुरु भयो, त्यसपछि केपी ओली प्रधानमन्त्री हुँदा सामाजिक सुरक्षा कोषको कार्यक्रम संस्थागत रूपमा अघि बढ्यो, यी कार्यक्रमहरूले सामाजिक सुरक्षालाई व्यवहारिक दिशानिर्देश दिए।’

महासचिव पोखरेलका अनुसार सामाजिक सुरक्षा  भविष्यको आधार हो । उहाँले भन्नुभयो, ‘यो योजनामा सहभागी हुँदा भविष्यमा मात्र होइन, वर्तमानमै पनि विभिन्न लाभ प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ।’

उहाँले हालको समाज अराजक प्रवृत्तितर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई सही बाटोमा ल्याउन योगदानमा आधारित, दीर्घकालीन सामाजिक सुरक्षा संरचना आवश्यक रहेको पनि बताउनुभयो।

कार्यक्रममा जिफन्टका पदाधिकारी र विभिन्न श्रमिक संघ–संगठनका प्रतिनिधिहरूको सहभागिता थियो।