काठमाडाैं, मंसिर १२। अनेरास्ववियुको अध्यक्ष दीपक धामीले आन्दोलन, संगठन र जिम्मेवारीप्रति आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जेनजी उमेर समूहका ऊर्जा खत्री (नेपाल इन्जिनियरिङ कलेज) र भूमिका दर्नाल (महर्षि) लाई सदस्यता प्रदान गरी औपचारिक रूपमा अध्यक्ष पद ग्रहण गरेको बताउँदै उहाँले विद्यार्थीको हितको लागि आफू सधैँ लडिरहेन बताउनुभयो । पदभार ग्रहणपछि धामीले आफ्नो युवा जीवनका धेरै निजी सपनालाई पछि सारेको उल्लेख गर्दै शैक्षिक, सामाजिक र राष्ट्रिय आन्दोलनका लागि आफू निरन्तर समर्पित हुँदै आएको बताउनुभयो। उहाँले डोटी जस्तो विकट जिल्ला हुँदै संघर्षका असङ्ख्य चरण पार गरेर वर्तमान जिम्मेवारीसम्म आइपुग्दा आन्दोलनप्रति निष्ठा र त्यागले नै आफूलाई यहाँ ल्याएको बताउनुभयो।
धामीले अनेरास्ववियुको आन्दोलन धेरै अग्रजहरूको रगत, पसिना र सपनाले बनेको भन्दै यस्तो संवेदनशील समयमा पाएको जिम्मेवारीले आफूलाई अझै सजग, उत्तरदायी र अनुशासित बनाइदिएको प्रतिक्रिया दिनुभयो। ‘समयले चुनौतीहरू अवश्य दिन्छ, तर ती सबै चुनौती पार गर्दै अखिलको झण्डा उँचो राख्नै पर्छ,’ उहाँले भन्नुभयो।
आफ्नो व्यक्तिगत जीवनभन्दा पनि आन्दोलन, देश र समुदायको हितलाई सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गर्दै धामीले आफूलाई निरन्तर साथ, प्रेरणा र बल दिइरहेका परिवार, साथीभाइ, शुभचिन्तक र सहयोद्धाहरूप्रति आभार व्यक्त गर्नुभयो। ‘व्यक्तिगत जीवनभन्दा पनि यो आन्दोलन, यो देश र मेरो समुदायको हित सदैव अग्रस्थानमा रहनेछ’, उहाँले भन्नुभयो ।
नयाँ अध्यक्षले आफू माथि विश्वास राखी जिम्मेवारी प्रदान गर्ने पार्टी नेतृत्वप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ललगायत सबै नेताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै निवर्तमान अध्यक्ष सुजन कडरियालाई भविष्यका व्यक्तिगत, राजनीतिक तथा सामाजिक यात्रामा सफलताको शुभकामना दिनुभएको छ । कडरियाले पदबाट राजीनामा दिएपछि धामी अनेरास्ववियुकाे अध्यक्ष बन्नुभएको हो ।
धामीले समय क्रमले ल्याउने सबै चुनौतीलाई मन, वचन र कर्मले सामना गर्ने प्रतिज्ञा गर्दै अनेरास्ववियुलाई अझ सुदृढ बनाउने लक्ष्य प्रस्तुत गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्