जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार १२:३९

एमालेमा केपी ओलीकाे विकल्प केपी ओली नै : पद्मा अर्याल


काठमाडौं, मंसिर १३। नेकपा (एमाले)का सचिव तथा ११ औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले पार्टीको नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको कुनै विकल्प नभएको स्पष्ट गर्नुभएको छ।

११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको बैठकलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उहाँले पार्टीलाई हालको विषम परिस्थितिबाट जोगाउन स्थिर र प्रभावकारी नेतृत्व आवश्यक भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो विषम परिस्थितिबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन, यो अहिलेको आवश्यकता हो, अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो।’

महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको प्रश्नमा उठिरहेका बहसहरूबिच सचिव अर्यालले अध्यक्ष ओलीकै नेतृत्वलाई पार्टीले अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार ११औँ महाधिवेशनले ओलीलाई पुनः अध्यक्षका रूपमा सर्वसम्मत रूपमा अघि बढाउनेछ।

अर्यालले मुलुकको वर्तमान सङ्कटपूर्ण राजनीतिक अवस्थाले पार्टीभित्र अझ दृढ एकता आवश्यक भएको बताउनुभयो। उहाँले सम्बद्ध सबै संरचना, संगठन तथा कार्यकर्ताहरूलाई ‘उन्नत एकता र मजबुत आन्तरिक समन्वय’का लागि आह्वान गर्नुभयो।

उहाँले थप भन्नुभयो, ‘अभूतपूर्व सङ्कटपूर्ण अवस्थामा एमालेमाथि चौतर्फी प्रहार भइरहेको छ। राष्ट्र र राष्ट्रियता जोगाउन, कोमामा रहेको संविधानलाई बचाउन पार्टी अझ सबल, सक्षम र एकताबद्ध हुन जरुरी छ।’

सचिव अर्यालका अनुसार अध्यक्ष ओलीको नेतृत्वमै देशलाई सही दिशामा लैजान महाधिवेशन महत्त्वपूर्ण मोड साबित हुनेछ। पार्टीभित्र सहमतिका आधारमा नेतृत्व निर्माण गर्ने परम्परा कायम रहने र ओलीकै अध्यक्षतामा सर्वसम्मत नेतृत्व गठन हुने दाबी पनि उहाँले गर्नुभयो।