काठमाडौं, मंसिर १३। नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले आगामी एघारौँ राष्ट्रिय महाधिवेशनका लागि सात जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। संगठनका विभिन्न जिम्मेवारी र भूगोलबाट आएका यी पदाधिकारीहरू महाधिवेशनमा महासङ्घको तर्फबाट सहभागिता जनाउने छन्।
महासङ्घका झापाका उपाध्यक्ष बेनु शिवाकोटी, सर्लाहीका उपाध्यक्ष राजकुमार उप्रेती र झापाकै उपाध्यक्ष पिएन अधिकारी प्रतिनिधिका रूपमा चयन हुनुभएको छ। त्यस्तै काठमाडौंका उपमहासचिव रामशरण ढुङ्गाना, बाँकेकी सचिव आरती पौडेल, डडेलधुराकी सचिव तारा खाती कार्की र काठमाडौंकी स्थायी समिति सदस्य बिन्दु महर्जन पनि सर्वसम्मत प्रतिनिधि बन्नुभएको छ ।
किसान आन्दोलन, कृषि नीति तथा संगठनगत सुदृढीकरणका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका यी सात नेताहरूले महासंघको तर्फबाट पार्टी महाधिवेशनमा नीतिगत बहस, सुझाव र निर्णय प्रक्रियामा योगदान गर्ने अपेक्षा व्यक्त गरिएको महासङ्घले जनाएको छ।
महाधिवेशन नजिकिँदै जाँदा विभिन्न जनवर्गीय संगठनहरूले आफ्ना प्रतिनिधि छनोट तीव्र पारिरहेका छन्। अखिल नेपाल किसान महासङ्घको यो सर्वसम्मत चयनलाई संगठनभित्रको एकता र सहकार्यको सङ्केतको रूपमा पनि हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्