जनता टाइम्स

१३ मंसिर २०८२, शनिबार २२:२९

एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रम फैलाइँदै, तर यथार्थ फरक : शंकर पाेखरेल 


काठमाडौं, मंसिर १३ । नेकपा (एमाले) भित्र ‘दलितको भोट चल्दैन’ भन्ने प्रकारका भ्रामक टिप्पणी र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै पार्टी नेतृत्वले त्यसको तथ्य स्पष्ट पारेको छ। महाधिवेशन प्रतिनिधि छनौटमा दलित सदस्यहरूको मतदान अधिकार सीमित भएको जस्तो प्रचार भए पनि वास्तविकता भने त्यसको ठिक विपरीत रहेको एमाले महासचिव शंकर पोखरेलले स्पष्ट पार्नु भएको छ ।

पार्टीमा महाधिवेशनका दौरान दलित र गैरदलित दुवै सदस्यहरू एउटै क्लस्टरमा बसेर भोट हाल्न पाउने व्यवस्था कायम रहेको उहाँले बताउनुभएको छ ।  ‘एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ,यथार्थ के हो भने-महाधिवेशनमा दलित र गैरदलित दुवै सदस्यले एउटै क्लस्टरमा रहेर भोट हाल्न समेत पाउँछन्, उनीहरूलाई त्यहाँ चुन्न र चुनिने दुवै अधिकार सुरक्षित छ’, उहाँले भन्नुभयो ।

यद्यपि दलित समावेशी क्लस्टरमा प्रवेश गर्ने प्रतिनिधिहरूले भने दलित समूहका लागि निर्धारण गरिएको कोटामा मात्र भोट हाल्ने व्यवस्था पुरानो समावेशी सिद्धान्तअनुसार निरन्तरता पाइरहेको उहाँले प्रष्ट पार्नुभयो । यो अभ्यास पार्टीले समावेशिताको नीति लागू गर्न थालेदेखि नै रहेको उहाँको भनाइ छ । ‘भविष्यमा सबैले सबैका लागि भोट हाल्ने गरी दलित समावेशिताको नयाँ व्यवस्था गरौँ भन्ने कुरामा पार्टीको असहमति रहनुपर्ने कुनै कारण छैन’, पोखरेलले स्पष्ट पार्नु भएको छ ।