काठमाडौं, मंसिर १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न खुला भएको बताउनुभएकाे छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले एमालेले महाधिवेशनमा मतदान नै नगरेर सर्वसम्मती गर्नुपर्छ भन्ने नाममा कसैलाई पनि नरोक्ने बताउनुभयाे । ‘मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मतीले गर्नुपर्छ भन्ने नाउँमा कसैलाई अघि बढ्नैन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन, रोक्ने सोक्ने कुनै कुरै होइन,’ ओलीले भन्नुभयो, ‘प्रतिस्पर्धा खुला हुन्छ, प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा राम्रोसँग गर्न पाउँछ ।’
सकेसम्म सहमतिकै साथ अघि बढ्नुपर्ने ओलीको भनाइ थियो । ‘तर अध्यक्षका हैसियतले मैरो के आग्रह हुन्छ भने जसले छाड्नुपर्छ सहमतिका साथले नै गरौँ, जो बस्नुपर्छ सहमतिका साथ बसौँ सहमितबाटै गरौँ,’ ओलीले भन्नुभयो ।
उहाँले एमालेमा आन्तरिक लोकतन्त्र नै नभएको भन्दै होच्याउने काम भएको भन्दै अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि आग्रह गर्नूभयो । ‘भन्ने गर्छन्, एमालेमा डेमोक्रेसी छैन, चुनाव नै गर्दैन, कसैलाई चुनाव लड्न दिएन भन्दा मेरो आग्रह छ एकताबद्ध भएर जाऔँ, एक अर्काप्रति खुइल्याउने, होच्याउनेजस्ता काम किन गर्नु, नगरौँ सम्मानपूर्वक ढंगले चल्ने कामको स्थापना गरौँ, अस्वस्थ खालको कुनै प्रतिस्पर्धा नगरौँ’, ओलीले भन्नुभयो, ‘प्रतिस्पर्धालाई हामी नराम्रो मान्दैनौँ,प्रतिस्पर्धाको तरिका हामीले रोजेर नै ल्याएका हौँ प्रतिस्पर्धा गर्न सबैलाई छुट छ ।’













प्रतिक्रिया दिनुहोस्