जनता टाइम्स

१५ मंसिर २०८२, सोमबार ०७:५०

जेनजी आन्दोलनको तोडफोड र आगजनीमा माओवादीको संस्थागत संलग्नता भेटियो, पूर्वमन्त्रीका स्वकीय सचिव पक्राउ


विराटनगर, मंसिर १५ । जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा पूर्वमन्त्री, पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन्।

पूर्वमन्त्री तथा विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) का सांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी तोडफोड र आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अन्सारीसहित ५ जनालाई मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा आइतबार पक्राउ परेको प्रहरीको भनाई छ । मोरङ प्रहरीका अनुसार अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनारलाई पक्राउ गरिएको छ ।

अन्सारी आगजनीमा संलग्न भइरहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । मोदी मन्त्री हुँदा पनि अन्सारी नै स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

घटनामा अन्सारीको प्रत्यक्ष संलग्नता देखिएको भिडियोहरू सार्वजनिक भएका थिए। अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडका क्रममा नेपाल प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियो पनि बाहिरिएको थियो।

आइतबार पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ। अन्सारी लगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवाहरूलाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ। मोरङका सरकारी भवनहरूमा आगजनी गर्ने २१ जना यसअघि नै पक्राउ परिसकेका छन्।