काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकाबारे विस्तृत छलफल हुने बताइएको छ।
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको समय, स्वरूप र प्रकृतिबारे देखिएको मतभेद आजको बैठकमार्फत समाधान हुने आशा गरिएको छ। असोज महिनादेखि कांग्रेसले निरन्तर बैठक गरिरहे पनि महाधिवेशनको मिति र कार्ययोजना टुङ्गोमा पुग्न सकेको थिएन। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशन र विशेष महाधिवेशन दुवै धारलाई सहमतिमा ल्याउन पटक–पटक छलफल गर्नुभएको थियो, तर अन्तिम सहमति बन्न सकिरहेको थिएन। यसपछि सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग छुट्टाछुट्टै वैचारिक परामर्श गर्नुभएको थियो। उहाँ महाधिवेशन आमनिर्वाचनअघि नै गरिनुपर्छ भन्ने पक्षमा निरन्तर भनाइ राख्दै आउनुभएको छ।
विशेष महाधिवेशनको माग फिर्ता भए नियमित महाधिवेशनमा जान सकिने भन्ने मध्यमार्गी प्रस्ताव आएपछि विषय केही सहज बन्दै गएको छ। यही वातावरणमा सभापति देउवाले आइतबार बिहानै कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई सोमबार बस्ने बैठकका लागि ‘पुस मसान्तभित्र महाधिवेशन गर्ने’ स्पष्ट कार्यतालिका तयार पार्न निर्देशन दिनुभएको हो।
विशेष महाधिवेशनको नेतृत्व गर्दै आउनु भएका महामन्त्री गगन थापा पनि सबै पदाधिकारीले इमानदारीपूर्वक लागे पुसभित्र महाधिवेशन गर्न सकिने धारणा राख्दै आउनुभएको छ। उहाँको भनाइअनुसार, विशेष महाधिवेशनको माग उठाउनुको उद्देश्य संगठनभित्र आवश्यक समीक्षा र सुधार प्रक्रियालाई संस्थागत बनाउनु हो, तर नेताहरूबिच आपसी अविश्वासले विषय जटिल बन्दै गएको छ।
कांग्रेस विधानअनुसार विशेष महाधिवेशनको निवेदन दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्छ। असोज २९ गते निवेदन दर्ता भएकाले पुस २८ भित्र विशेष महाधिवेशन बोलाउने प्रावधान लागू हुने कानुनी व्याख्या गरिएको छ। यही कारण आजको बैठकलाई अत्यन्तै संवेदनशील र निर्णायक मानिएको छ।
नेताहरूका अनुसार, पुस २७ गतेदेखि महाधिवेशनको प्रारम्भिक प्रक्रिया सुरु गर्ने प्रस्ताव समेत कार्यदलले विचार गरिरहेको छ। प्रस्ताव स्वीकृत भए पार्टीले नयाँ कार्ययोजना तयार पार्दै संगठनलाई आगामी आमनिर्वाचनका लागि एकीकृत ढङ्गले अघि बढाउने अपेक्षा गरिएको छ।
आज बस्ने कार्यसमिति बैठकमा महाधिवेशनका सबै सम्भावित कार्यतालिकाहरू टेबुल हुनेछन्। विशेष महाधिवेशनको माग औपचारिक रूपमा फिर्ता लिने कि नियमित महाधिवेशनलाई विशेष महाधिवेशनको भावना अनुसार रूपान्तरण गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।
कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व, नीति तथा संगठन सम्बन्धी बहस अहिले निर्णायक चरणमा पुगेको छ। सभापति देउवा, कार्यवाहक सभापति खड्का र महामन्त्री गगन थापासहित शीर्ष नेताहरू समान राजनीतिक इच्छाशक्ति लिएर उभिन सक्ने हो भने आजको बैठकले महाधिवेशनको मार्गचित्र स्पष्ट गर्नेछ। तर सहमति फेरि टुटेमा महाधिवेशन–सम्बन्धी अन्योल बढ्दै जाने र पार्टीभित्र असन्तोष गहिरिन सक्ने आकलन गरिएको छ।













प्रतिक्रिया दिनुहोस्