जनता टाइम्स

१५ मंसिर २०८२, सोमबार १७:४४

जेनजी आन्दोलनमा भागेका लागूऔषध मुद्दामा अभियुक्त रसिल हतियार लुटेर बिक्रीमा राख्दा फेरि समातिए


काठमाडौं, मंसीर १५ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार बिक्रीका लागि राखेको पाइएको छ ।​ टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हतियार बिक्रीका लागि राखेको सूचना पाएपछि आइतबार तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं भुरुङखेल बस्ने २८ वर्षीय रसिल जोशी, दार्चुलाको दुहु गाउँपालिका–४ घर भएर काठमाडौं सुन्धारा बस्ने १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर र बाफल बस्ने विराट प्रसाद जोशी छन् ।

प्रहरीले उनीहरूबाट नेपाल पुलिस लेखिएको टाइप –५४ पेस्तोल बरामद गरेको हो । नियन्त्रणमा लिइएकामध्ये रसिल लागूऔषध मुद्दाका फरार आरोपी हुन् । अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार रसिलले भदौ २४ मा जेनजी आन्दोलनको फाइदा उठाएर प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट भाग्ने क्रममा प्रहरीको पेस्तोल लुटेर लगेका थिए ।

सुन्धाराको एक होटलमा काम गर्ने डेबिट र विराटसँग रसिलले भेटेर आफूले प्रहरीको पेस्तोल ल्याएको र बिक्री गर्‍यो भने राम्रो पैसा आउँछ भन्दै शुरूमा बाफलस्थित विराटको कोठामा पेस्तोल राख्न दिएका थिए । विराटले केही दिन आफ्नो कोठामा राखी डेबिटलाई राख्न दिएका थिए ।

अनुसन्धान कार्यालयले यसअघि पनि प्रहरीबाट लुटिएको पेस्तोल बिक्रीका लागि राखेका तीन जनालाई पक्राउ गरिसकेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका(११ मा डेरा गरी बस्ने शिवराज धमला, कैलाली घर भएका जनक चलाउने र मनोज ढुंगानाबाट प्रहरीले चाइनिज पेस्तोल, तीन वटा म्याग्जिन, इन्सास राइफल, राइफलको म्यागजिन, सर्टगन र २० वटा रबर बुलेट बरामद गरेको थियो ।

प्रहरीले चलाउनेलाई इलाका प्रहरी कार्यालय टीकापुरको सहयोगमा कैलालीबाट नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हतियार बिक्रीमा राखेको रहस्य खुलेको थियो । प्रहरीका अनुसार साथीले लुटेको हतियार व्यवस्थापन गर्ने क्रममा काभ्रे महाभारत गाउँपालिका(१ का राज लामा भन्ने वाङ्सु लामा पक्राउपछि कारागार चलान भएका छन् ।

ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेका वाङ्सु जेनजी आन्दोलनको फाइदा उठाएर भागेका थिए । वाङ्सुसँगै एउटै कसुरमा उनका साथी काभ्रे महाभारतकै छेवाङ लामा समेत सुन्धारा कारागारमा थिए । आन्दोलनमा उनीहरू दुवै कारागारबाट भागेका थिए ।

एकैपटक गत कात्तिक १२ गते छेवाङ वाङ्सुको गोकर्णेश्वर नगरपालिकामा रहेको डेरा पुगे । उनले ‘झोलामा एउटा समान ल्याएको छु, राखिदेऊ भोलि लिन आउँछु है’ भनेर छाडेर गए । वाङ्सुलाई शंका लागेर झोला खोलेर हेर्दा ग्यास गनका बट र नाल देखे । तत्कालै छेवाङलाई फोन गरेर वाङ्सुले ‘कहाँबाट ल्याएको हो यो हतियार, लिन आउने भए आऊ नत्र फोहोर फाल्ने ठाउँमा फालिदिन्छु, कि प्रहरीलाई बुझाइदिन्छु’ भने ।

छेवाङले वाङ्सुलाई कुमारीगालस्थित ज्योती पार्टी प्यालेस अगाडि बोलाए । वाङ्सु हतियार झोलामा बोकेर बस चढेर कुमारीगाल हुँदै टुसालमा रहेको एउटा खाजा घर अगाडि पुगे । छेवाङले हतियार बाहिरको टेबलमा छाडेर जाऊ भने । वाङ्सुले त्यही गरे । शौचालय गएर फर्किँदा हतियार थिएन । वाङ्सुले छेवाङलाई फोन गरे । छेवाङले आफूले हतियार लिइसकेको र तिमी कोठा जाऊ भनेर पठाए ।

उता प्रहरीले हतियार खोजिरहेको थियो । वाङ्सुले छाडेको हतियार खाजापसल अगाडि खप्टिएको प्लाष्टिकको कुर्सीमाथि बेवारिसे अवस्थामा प्रहरीले फेला पार्यो ।

अनुसन्धान गर्दै जाँदा प्रहरीले शुरूमा वाङ्सुलाई पक्राउ गर्यो । वाङ्सुले आफूलाई उक्त हतियार छेवाङले दिएको बयान दिए । छेवाङ अहिलेसम्म फरार छन् । तर, वाङ्सु पुरानो मुद्दा ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।