काठमाडौं, मंसिर १५ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा (फेसबुक) लगायतका सामाजिक सञ्जालहरू दर्ता प्रक्रममा नआए बन्द गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राजनीतिक प्रसङ्गमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालमा व्यवसाय गर्ने सबै संस्थाले अनिवार्य रूपमा नेपालको कानुन मान्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशको आफ्नै स्वाधीनता छ, रेगुलेसन अत्यन्तै आवश्यक छ, नेपालमा व्यवसाय गर्न आउँदा सबैले दर्ता हुनुपर्छ कि पर्दैन ? नेपालको संविधान र कानुन मान्नुपर्छ कि पर्दैन ?’
ठुलो आर्थिक कारोबार गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालमा दर्ता नभई सेवा सञ्चालन गर्नु राष्ट्रिय स्वाधीनता तथा स्वाभिमानविरुद्धको काम भएको गुरुङले टिप्पणी गर्नुभयो । ‘नेपालीले नेपालमै चिया पसल खोल्दा समेत सिडिओ कार्यालयमा दर्ता गर्नुपर्छ तर अर्बौँ रुपैयाँको कारोबार गर्ने कम्पनी नेपालमा दर्ता हुनुपर्दैन भनी कोही कसरी भन्ने ?’, उहाँले प्रश्न गर्नुभयो ।

गुरुङ सञ्चार मन्त्री रहँदा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको प्रसङ्ग स्मरण गर्दै वर्तमान परिस्थितिले फेरि त्यस्ता प्लेटफर्महरूलाई कडाइका साथ नियमन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । जेनजी आन्दोलनपछि ती सञ्जाल पुनः सञ्चालनमा आएको उल्लेख गर्दै उहाँले कुनै न कुनै दिन फेरि बन्द गर्नुपर्ने अवस्था आउन सक्ने स्पष्ट पार्नुभयो ।
उहाँले धेरै नागरिकले राजनीतिलाई अपूर्ण र सतही रूपमा बुझ्ने प्रवृत्ति बढेको टिप्पणी गर्नुभयो । राजनीतिमा अध्ययन र सचेत सहभागिताको आवश्यकता उहाँले औँल्याउनुभयो। ‘धेरैले चुनाव भयो, मन्त्री बन्यो, सकियो, राजनीति गहिरो विषय हो भन्ने बुझाइ अभाव देखिन्छ’, गुरुङले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्