जनता टाइम्स

१५ मंसिर २०८२, सोमबार २०:४८

केपी ओली र एमाले राष्ट्रका सच्चा पहरेदार, अबको पार्टी अध्यक्ष केपी ओली नै : पृथ्वीसुब्बा गुरुङ


काठमाडौं, मंसिर १५ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रको पहरेदार भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले साेमबार काठमाडौंमा आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा बोल्दै उहाँले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता पक्षमा उभिएका राष्ट्रिय स्वाधीनताको पहरेदार भएका दाबी गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको मुद्दा र राष्ट्रिय स्वाधीनताको मुद्दा बोक्ने नेता केपी ओली नै भएको बताउनुभयो । त्यसैले ओलीलाई नै फेरि पनि पार्टी नेतृत्वमा लैजानुपर्ने उहाँको धारणा छ ।

जनताको बहुदलीय जनवाद (जबज) को उत्तराधिकारी कुनै परिवारको सदस्य नभई पार्टी अध्यक्षको हैसियतले ओली नै रहेको गुरुङको भनाइ छ। ‘जबज भनेर हिँडेका मान्छे धेरै थिए, ती चुनाव हार्दै पार्टी छोड्दै हिँडे, त्यही भएर उनीहरू कोही पनि जबजको उत्तराधिकारी होइनन्, जबजको व्याख्या र कार्यान्वयन गर्ने व्यक्ति केपी शर्मा ओली नै हुनुहुन्छ’, उहाँले भन्नुभयो ।

गुरुङले पार्टीको विधान महाधिवेशनले नीतिगत निर्णय गरिसकेको बताउँदै ११ औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने बताउनुभयो । अबको एमाले केपी ओलीकै नेतृत्वमा अघि बढ्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लेख्नुभएको ‘जनताको बहुदलीय जनवादका आधारहरू’ पुस्तक पिन विमोचन गरिएको थियो । नेता गौतमले मदन भण्डारीसँग आफूले काम गरेको अनुभव पुस्तकमा समेटेको बताउनुभयो । पुस्तकमा भएका कमी कमजोरीलाई जस्ताको तस्तै औँल्याइदिन पनि उहाँले आह्वान गर्नुभयो ।

गुरुङले नेपाली कम्युनिष्ट पार्टीको नाममा वृद्धाश्रम बनाइएको टिप्पणी गर्नुभयो । त्यो कम्युनिष्ट पार्टीको कुनै क्रान्ति वा एकताको दिशा नभएको उहाँले दाबी गर्नुभयो ।