जनता टाइम्स

१६ मंसिर २०८२, मंगलवार २०:५३

अनेरास्ववियुले सुरु गर्याे मेची–महाकाली विद्यार्थी जागरण यात्रा 


बिर्तामोड, मंसिर १६। अनेरास्ववियुले मेची–महाकाली विद्यार्थी जागरण यात्राको औपचारिक शुभारम्भ गरेको छ । झापामा आयोजित कार्यक्रममार्फत संगठनका केन्द्रीय अध्यक्ष दीपक धामीले मंगलबार अभियानको उद्घाटन गर्नुभएको हो ।

विद्यार्थीहरूलाई अनेरास्ववियुको झण्डा हस्तान्तरण गर्दै उहाँले यात्राको प्रारम्भ घोषणा गर्नुभएको थियो । संगठनले प्रदेशस्तरीय विभिन्न कार्यक्रम सञ्चालन गर्दै यात्रालाई देशव्यापी विद्यार्थी सचेतनामूलक अभियानका रूपमा अघि बढाउने जनाएको छ ।

यसै क्रममा अनेरास्ववियु कोशी प्रदेशले ‘लागुऔषधमुक्त समाज : हाम्रो अभियान’ विषयक अनलाइन वक्तृत्वकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । खुला डिजिटल प्रतियोगितामा तेह्रथुमको सरस्वती मावि छथरस्थित कक्षा ९ की तृप्ति भण्डारी प्रथम, खाँदवारीको सूर्य आवासीय माध्यमिक विद्यालयका कक्षा १० का सदिक्षा तामाङ दोस्रो र मोरङको सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचाका सुमन ढुङ्गाना तेस्रो हुनुभएको थियो ।

उहाँहरुलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको कोशी प्रदेश अध्यक्ष नारायण पोखरेलले जानकारी दिनुभयो । यस्तै, सान्त्वना पुरस्कारस्वरूप कनकाईस्थित हरिकुल नमूना माध्यमिक विद्यालयकी कक्षा १२ की प्रिन्शा तिम्सिना, धुलाबारी मावि कक्षा ८ की कृतिका शिवाकोटी तथा पब्लिक हाईस्कूल धरान–१२ चतारा लाइनकी कक्षा १० की तमन्ना वान्तवा राईलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण प्रमुख अतिथि अध्यक्ष धामीले गर्नुभएको थियो ।

प्रतियोगितामा प्राडा गंगा अधिकारी, गोपाल काफ्ले र डा. कुमार सुवेदी निर्णायक मण्डलमा रहनुभएको थियो । उत्कृष्ट विद्यार्थीको नामावली निर्णायक मण्डल सदस्य गोपाल काफ्लेले सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामीले विद्यार्थीको काँधमा देश बचाउने दायित्व आएको बताउनुभयो । उहाँका अनुसार देशभित्र एकता भाँड्ने प्रयास चर्किँदै गएका बेला विद्यार्थीहरूले सचेत र उत्तरदायी भूमिका निर्वाह गर्न आवश्यक छ । युवालाई आन्दोलनका नाममा दुरुपयोग गर्ने प्रवृत्ति मौलाइरहेको उल्लेख गर्दै उहाँले अनेरास्ववियुका विद्यार्थी कुनै पनि हालतमा देश जलाउने गतिविधिमा लाग्न नसक्ने बताउनुभयो । ‘हामी राष्ट्रभक्त विद्यार्थीहरुको संगठन हौँ,’ उहाँले भन्नुभयो, ‘देशमा आगो लगाउने, सांस्कृतिक धरोहर जलाउने प्रवृत्तिको समर्थन गर्न विद्यार्थी तयार हुनुपर्दैन ।’

अनलाइन वक्तृत्वकला प्रतियोगितामा उत्साहपूर्वक सहभागी भएकामाथि धन्यवाद व्यक्त गर्दै उहाँले विद्यार्थीलाई देशको भूमि, सम्पदा र सार्वभौमिकताको रक्षार्थ अनेरास्ववियुमा गोलबद्ध हुन पनि आह्वान गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि र नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अनेरास्ववियुको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले वक्तृत्व प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै नेपाली विद्यार्थी आन्दोलनको मूल धारा अनेरास्ववियुमार्फत सुदृढ हुने बताउनुभयो । युवाका नाममा हिंसा र अव्यवस्था फैलाउने गतिविधि प्रतिगमनको स्वरूप भएको भन्दै उहाँले यस्ता क्रियाकलापबाट टाढा रहन आग्रह गर्नुभयो ।

भदौ २३ गतेदेखि सुरु भएको आन्दोलनका नाममा पछिल्लो चरणमा प्रतिगमन देखिएको उल्लेख गर्दै उहाँले सहिदका सालिक तोड्ने, राष्ट्रिय धरोहर जलाउनेजस्ता गतिविधिमा संलग्नहरूलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राख्नुभयो । साथै, उहाँले प्रतिनिधिसभा पुनःस्थापना, गौरीबहादुर कार्की आयोग खारेज तथा आगजनी–तोडफोडमा संलग्नमाथि कडाइका साथ कानुनी कार्यवाहीको माग गर्नुभयो ।

यस्तै, अनेरास्ववियुकी महासचिव अञ्जना शिवाकोटीले संगठन अब हरेक शैक्षिक संस्थाका कक्षा–कक्षामा पुगेर संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । देशमा बढ्दो अराजकतालाई रोक्न संगठनलाई थप बलियो बनाउने लक्ष्यअनुसार कक्षा कक्षामै विद्यार्थी संगठन विस्तार गरिने उहाँको भनाइ थियो ।