जनता टाइम्स

१७ मंसिर २०८२, बुधबार १०:१०

आज कुलमान घिसिङको उज्यालो नेपाल पार्टी घोषणा हुँदै, सुशीला कार्की नेतृत्वको सरकार माथि नैतिक प्रश्न 


काठमाडौं, मंसिर १७ । ऊर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ आज औपचारिक रूपमा घोषणा हुँदै छ।

प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजे पार्टी घोषणाको कार्यक्रम तय भएको छ । घोषणा सभामा प्रमुख अतिथिको रूपमा ऊर्जा मन्त्री कुलमान घिसिङको उपस्थिति रहनेछ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ। पार्टीले आफ्नो सैद्धान्तिक धारणा, प्राथमिकता र आगामी कार्ययोजना स्पष्ट रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

यसअघि मंसिर १२ गते जारी गरिएको वक्तव्यमार्फत पार्टीले वर्तमान दलगत भीडमा केवल अर्को दलको रूपमा सीमित नहुने जनाइएको थियो। अनुभवी नेतृत्व, कार्यकुशलता र प्रतिबद्धताका आधारमा उज्यालो सपना साकार पार्न सक्ने विकल्पका रूपमा आफू उभिन लागेको पार्टीले दाबी गरेको छ। आम नेपाली जनताले विश्वास र भरोसा गर्न सक्ने खालको जिम्मेवार नेतृत्व प्रदान गर्ने दृढता पनि सार्वजनिक गरिएको थियो।

जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल निर्माणका लागि परिणाममुखी संवादमार्फत एकजुट हुन पार्टीले सर्वसाधारणमा आह्वान गरेको छ।

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई राजनीति भन्दा टाढा रहेको नागरिक सरकार भनिएको भए पनि सरकारका मन्त्री घिसिङ भने नयाँ पार्टीमा आबद्ध हुनुभएको छ । यो आबद्धताले उहाँ माथि नैतिक प्रश्न खडा भएको छ ।