जनता टाइम्स

१७ मंसिर २०८२, बुधबार १२:०४

एमाले महाधिवेशन प्रतिनिधि छनोट : ओखलढुङ्गापछि धनकुटाको छनौट प्रक्रिया पनि अवैध भएको भन्दै रद्द, पुन निर्वाचन गर्न निर्देशन 


काठमाडाैं, मंसिर १७। नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि गरिएको प्रतिनिधि छनोट प्रक्रिया विधि र पद्धति विपरीत भएको भन्दै ओखलढुङ्गापछि धनकुटाको महाधिवेशन छनौट प्रक्रिया पनि रद्द गरिएको छ ।

नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि धनकुटामा पनि पुनः निर्वाचन प्रक्रिया सुरु गर्न संगठन विभागले निर्देशन दिएको छ ।

यसअघि भएको प्रतिनिधि छनौट निर्वाचन विधि सम्मत नभएको भन्दै केन्द्रबाट पुनः प्रतिनिधि छान्न निर्देशन दिइएको हो । धनकुटामा प्रतिनिधि छनोट निर्वाचन एकलौटी गरिएको भन्दै एउटा समूहले निर्वाचन प्रक्रिया नै बहिष्कार गरेको थियो।

बहिष्कार विवादका बिचमा नै प्रतिनिधिको नामावली पठाएको थियो । सो प्रति असन्तुष्टि जनाउँदै केन्द्रमा उजुरी परेको थियो थियो । सोही आधारमा केन्द्रले पुनः निर्वाचन गर्न निर्देशन दिएको हो ।

यस अघि ओखलढुंगामा पनि विधि र प्रक्रिया विपरीत प्रतिनिधि चयन गरिएको भन्दै केन्द्रले त्यसलाई रद्द गरेर पाँच दिन भित्र नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो ।