काठमाडौं, मंसिर २०। नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भक्तपुरको सल्लाघारीमा आयोजना हुन लागेको पार्टीको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनलाई भव्य र सभ्य रूपमा सफल बनाउन नेता–कार्यकर्ता तथा जनसमुदायलाई उपस्थित हुन आह्वान गर्नुभएको छ।
गुरुङले एमालेको महाधिवेशन केवल औपचारिक कार्यक्रम मात्र नभई मुलुकलाई राजनीतिक स्थायित्व र विकास–समृद्धिको दिशामा अघि बढाउने दृढ सङ्कल्पको उद्घोष पनि भएको बताउनुभएको छ । उहाँले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा देखिएका अन्योल, अस्थिरता र विकास अवरुद्धताबाट देशलाई उकास्न एमालेको सशक्त नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ। ‘नेकपा (एमाले) को “एघारौँ राष्ट्रिय महाधिवेशन” को फगत एउटा औपचारिकता मात्र होइन, यो मुलुकलाई निकास दिने र राजनीतिक स्थायित्व कायम गर्ने दृढ सङ्कल्पको उद्घोष पनि हो’, उहाँले भन्नुभएको छ ।
देशको समस्या समाधान गर्न नेकपा एमालेको एकल र सशक्त नेतृत्व देशलाई आवश्यक परेको उहाँले बताउनुभएको छ । ‘आज राष्ट्रिय राजनीतिमा देखिएका तमाम अन्योल र सङ्कटलाई सम्बोधन गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन र “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको एकल र सशक्त नेतृत्व अपरिहार्य छ, तसर्थ, यो महाधिवेशनलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल पार्न यहाँहरूको उपस्थितिले ठुलो अर्थ राख्नेछ’, गुरुङको भनाइ छ ।
मधेसदेखि हिमालसम्मका लाखौँ कार्यकर्ताको भावना बोकेर सल्लाघारीमा भव्य ‘एमाले जनलहर’ प्रदर्शन गर्न काठमाडौँ उपत्यका र आसपासका जिल्लामा रहेका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई उहाँले विशेष आह्वान गर्नुभएको छ। “सङ्कटको निकास र समृद्धिको यात्रामा हातेमालो गर्न सबैलाई सप्रेम आमन्त्रण गर्दछु,” उपमहासचिव गुरुङले भन्नुभयो।
पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरका पार्टी सदस्यहरूको अपार विश्वास जितेर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका प्रतिनिधिलाई बधाई दिँदै उहाँले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । ‘महाधिवेशन प्रतिनिधिको परिचयपत्र केवल एउटा दस्ताबेज होइन; लाखौँ कार्यकर्ताको सपना, अपेक्षा र भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर तथा जिम्मेवारी पनि हो’, गुरुङको धारणा छ ।
प्रतिनिधिहरूको निर्णयले पार्टीलाई वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा एकताबद्ध र भावनात्मक रूपमा सुदृढ बनाउने मार्गदर्शन गुरुङले बताउनुभएको छ । उपमहासचिव गुरुङले पार्टी संगठनलाई सबल बनाउने, नीति–दिशा तय गर्ने र राष्ट्रिय राजनीतिमा निर्धारक योगदान दिने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उल्लेख गर्दै मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा भेटेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न प्रतिनिधिहरूलाई आह्वान गर्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्